मेरोलागि धर्मरत्न यमिको नाम आफैं पनि यति awe-inspiring थियो कि मैले वहाँलाई आफ्नो बुबा भन्दा पनि एउटा चर्चित व्यक्तित्वको रूपमा लिंदा मलाई सजिलो लाग्दछ । त्यसकारण यो संस्मरणमा वहाँलाई बुबाको रूपमा भन्दा एउटा व्यक्तित्वको रूपमा बढी जोड हुन पुग्यो भने म क्षमाप्रार्थी छु किनकि मेरो दृष्टि- कोणमा वहाँप्रति श्रद्धाञ्जली अर्पण गर्ने सबभन्दा निस्छल तरिका नै यही हो ।
अहिले पनि जीवित छन् धर्मरत्न यमि
धर्मरत्न यमि यो संसारमा नभएतापनि मलाई कता कता वहाँ अहिले पनि जिउँदै हुनुहुन्छ जस्तो लाग्दछ, मानौँ वहाँ नेपाल वा तिब्बत वा भारतको कुनै कुनाहरुमा घुमीरहनु भएको छ । मैले मेरो बुबाको मृत शरीर नदेखेकोले होला मलाई विश्वास गर्न गाह्रो परिराखेको छ कि वहाँ यो संसार सधैंको लागि छोडेर गइसक्नु भयो । यो बाहेक अरू कुराहरूले पनि त्यही जनाउँछ । म जहाँ जान्छु प्रायश्च: बुबालाई चिन्ने, वहाँको नाउँ सुनेका व्यक्तिहरूसंग भेट्ने गरेको छु चाहे त्यो नेपालको कुनै कुना वा भारतको कानपुर, दिल्ली, बनारस, पटना आदि ठाउँमा किन नहोस् । मेरो आफ्नो नाउँले भन्दा उपनामले धेरै ठाउँमा चिनाउन मद्दत गरेको छ, मानौं बुबाको चिनारीले मलाई पछ्याइरहेको छ ।
बुबालाई चिन्ने अर्थात् नाम सुनेका व्यक्तिहरू सित पनि कस्ता कस्ता प्रसङ्ग र परिस्थितिमा भेट हुँदो रहेछ । दिल्लीमा आर्किटेक्चर पद्नेताका एकजना दुब्लो पातलो गोर्खालीले हाम्रो पहिलो परिचयमा नै सोधेक थिए- ‘तपाई धर्मरत्न यमिको छोरी ?” त्यस पछि उनले निकै उत्सुक भएर मसँग राजनीतिबारे, देशको स्थिति बारे कुराकानी गरेका थिए । म त लाजले भुतुक्क भएको थिएँ किनभने मलाई राजनीति, देशको स्थिति सम्बन्ध त्यतिवेला कुनै वास्ता थिएन । उनी थिए बाबुराम भट्टराई जो त्यसै कलेजमा M. Arch गर्न आएका थिए र जोसँग मेरो पछि विवाह हुन गएको थियो । त्यसपछि विद्यार्थी राजनीतिको जोशले दिल्लीस्थित राजदुतावासमा प्रायश्चः हामी विद्यार्थीहरुका हकहित, देशको र अवस्था सम्बन्धी माँगहरू लिएर राजदूतलाई निकै सताउन जान्थ्यौं । त्यसताका बेदानन्द झा भारतको राजदुत हुनुहुन्थ्यो । एकदिन वहाँले मलाई आफ्नो अफिसमा बोलाएर एउटा अनौठो परिचय दिएको मलाई अझ पनि याद आउँछ । वहाँले भन्नु भएको थियो, “तिम्रो बुबा त मेरो एकदम मिल्ने साथी हो, तिमी विदेशमा आएर यसरी सरकारको विरोध गर्नु हुन्न, यस्तो सरकार विरोधी संघमा लाग्नु हुँदैन ।” बाबुराम भट्टराई र बेदानन्द झाको धर्मरत्न यमिकी छोरीबाट कस्तो परस्पर विरोधी अपेक्षा ? त्यस्तै दिल्ली को जवाहरलाल नेहरु विश्वविद्यालयको म्यारिड स्कलर्स होष्टेलमा म र बाबुराम वस्न जाँदा त्यहाँ दाह्री पालेका एकजना मार्क्सवादीले मेरो परिचयको क्रममा सोधेका थिए धर्म यमि का कोई रिश्ता है ?” म तीन छक परेकी थिएँ । पछी बुझ्दा उनले राहुल सांकृत्यायनको साहित्यमा Ph. D. गरिरहेका रहेछन् । राहुल सांकृत्यायनले लेखेको “धर्मरत्न यमि” नामक पुस्तक उनले मलाई देखाएका थिए ।
त्यस्तै आफु विद्यार्थीकालमा अखिल भारत नेपाली विद्यार्थी संघमा सक्रियरूपले काम गर्दा प्रत्येक बर्ष संघको मुखपत्र ‘जनमानस’ को लागि लेख, अन्तर्वार्ता काठमाण्डौंमा लिन आाउँदा मेरो उपनामले धेरै ठाउँमा काम सजिलो पारिदिएको थियो । कट्टर पञ्चायती राजनीतिज्ञ देखि लिएर कट्टर कांग्रेसी र कम्युनिष्टहरूसित बुबाको परिचय रहेको मैले पाएँ । अनि बुबाको कुरा संग-संगै आमाको कुरा आइहाल्थ्यो । यहाँ सम्म कि कुनैले त, विशेष गरेर कम्युनिष्ट राजनीतिज्ञहरूले, आमाको बढी चासो लिएर कुराहरू सुनाउँदथे । यो मेरो दुर्भाग्य रह्यो कि म वहाँहरूकी कान्छी छोरी भएर जन्मे । त्यस कारण वहाँहरूको चिनारी मैले प्रायश्चः अर्कैको आँखा र मुखबाट पाउनु पर्यो, किनकि आमाले मलाई ६ वर्षकी र बाले १५ वर्षकी छोडेर जानु भएको थियो ।
‘धर्म’ रत्न यमि
नाम धर्मरत्न यमि भएता पनि कट्टर धर्ममा बहाँको पटक्कै विश्वास थिएन । धर्मको नाममा हुने भेदभाव, छुवाछुत, शोषणको त झन तीव्ररूरमा भर्त्सना गर्नुहुन्थ्यो । मुखले मात्र नभईकन कर्मले ! समाजको उत्थानको काममा, विशेषतः तल्लो जातलाई अगाडि बढाउनमा र रूढीवादी सोचाइ हटाउनमा वहाँ कार्यशील तेही हुनुहुन्थ्यो । यहाँसम्म कि वहाँ आफु उप-मन्त्री हुँदादेखि पोडे जातीको भान्छे घरमा राखेर समाजलाई एउटा नौलो उदाहरण देखाउनू भएको थियो । आफ्ना छोरा छोरीहरूलाई धर्मको ‘ध’ सम्म पनि उच्चारण गर्न लगाउनु भएन । मलाई प्रष्टसंग याद छ, हामी स्वयम्भू घुम्न जाँदा अरूहरूले गरेको देखेर हामीले पनि देवताको माझमा पैसा राख्न खोज्दा बुबाले गालि गरेर भन्नु हुन्थ्यो, “बरु त्यो पैसा बुढा, लुलालँगडा, भीख माँग्ने मान्छेलाई दिनु नि !” यसरी वहाँले धर्मको कट्टरता र समाजको कुरितिलाई मुखले मात्र विरोध नगरीकन कर्मले समेत देखाउने भएकोले वहाँलाई ‘कर्म’ रत्न यमि भन्नु वढी उपयुक्त हुन्छ कि ?
यमि छें-एउटा प्रयोगशाला
संयोगवश भनूँ हाम्रो घर-यमि छें-यस्तो एकान्त ठांउमा पर्यो, वरपर घर छैन ठूलो कम्पाउण्ड भित्र पर्दछ । समाजको कुरिति, अनावश्यक गफहरू, अवैज्ञानिक विधिविधाहरूबाट टाढा रह्यो त्यो घर त हाम्रो बुवाआमाको लागि एउटा आदर्श सामाजिक प्रयोगशाला हुन पुग्यो । त्यो प्रयोगशालाको साधन आफ्नै छोराछोरीहरू र घर थिए । घरको बुइँगलमा (जुन ठाउँ नेवारहरुको सबैभन्दा चोखो मानिन्छ) जालीले बुनेर एउटा कोठा बाहिर निकालियो जसमा कुखुराहरू टन्न पालिए र बिज्ञान गरियो-उदासले पनि कुखुरा पाल्न हुन्छ, खान हुन्छ भनेर । उता आफ्नै छः छवटी छोरी- हरूलाई बेल-विवाह नगरीकन समाजको अगाडि उभ्याइयो । आफ्नो एकमात्र छोरालाई व्रतवन्ध नगरी छोडियो । छोरा र छोरी बीच व्यवहारमा कहिल्यै पनि भिन्नता ल्याइएन । छोरीहरुलाई कहिल्यै पनि बोझको रूपमा हेरिएन । फलस्वरूप हामीलाई धेरै वर्षसम्म आभास भएन कि हामी एकदिन अर्काको घरमा जानु पर्दछ भनेर !
म यो लेख्नमा हिच्किचाउन्न कि हाम्रा कतिपय ‘क्रान्तिकारी’ साथीहरूको घर घरमा धर्मको चिन्ह कुनै न कुनै रूपमा झल्केको देखिन्छ । नाग पंचमीको दिनमा वहाँहरूकै कोठाको ढोकामा नागको चित्र झुण्डिएको हुन्छ; श्राद्धको बेला दश थरि तरकारीले सुशोभित भातको रास वहाँहरूको दैलोमा फ्याँकेको देखिन्छ ।
मौलिकताका प्रतीक-धर्मरत्न यमि
बुबाको अर्को विशेषता थियो वहाँको चिन्तनमा, विचारमा मौलिकता । प्रत्येक घटनालाई वहाँले ऐतिहासिक साँस्कृतिक दृष्टिकोणले हेर्नुहुन्थ्यो । त्यस कारण धर्मलाई पनि वहाँले जहिले पनि ऐतिहासिक भौतिकवादी दृष्टिले हेरेको वहाँका कृतिहरूबाट झल्किन्छ । जातपातको विरोधी भएको नाताले वहाँले आफ्नो नाममा झुण्डिने जातको चिन्ह अर्थात ‘तुलाधर’ लाई झिकेर ‘यमि’ अर्थात ‘काठमाण्डौली’ राख्नु भयो । वहाँले आफ्ना छोरा- छोरीहरूको नाममा समेत आफ्नो मौलिकता देखाउन खोज्नु भएको छ । आफ्नो पहिलो छोरी आफ्नै नामले सम्बोधन् गर्न चाहे, फलस्वरूप धर्मदेवी नाम राखियो । जेठी छोरी पछि छोरा पाएछन् २००४ सालमा, जुन बेला पद्म शम्शेरले सर्वप्रथम विधान घोषणा गरेका थिए । त्यही विधान अन्तर्गत मौलिक अधिकारहरूको माँग लिएर दुवै आमा-बुबा सडकमा उत्रेका थिए । त्यही ताका छोरा जन्मेकोले छोराको नाम ‘विधान रत्न’ राख्न पुगे । यसरी ऐतिहासिक घटनालाई छोराको नाउँबाट जीवित राख्न खोजे । माइली छोरी जन्मदा वहाँहरूको जीवनमा एउटा गुणात्मक परिवर्तन आयो । राणाकालमा जेलनेल भोगीरहेको दुःखित प्रवस्थाबाट अब वहाँहरूको जीवनमा अलि सुखको आभास आउने बेलामा जन्मेकी छोरी हुनाले अथवा अध्यारो अवस्था- लाई उज्यालो पार्न आाएकी छोरीलाई ‘तिमिला’ अर्थात जून’ को नामले सम्बोधन गर्न पुगे । हुन पनि तिमि- लाको जन्मको एक महिना लगत्तै बुबा उप-मन्त्री हुन पुग्नु भयो । त्यस्तै एउटा नयाँ घर बनाउँदा साइली छोरी जन्मिछन् त्यसैले उनको नाम “न्हुछे शोभा” राख्न पुगे, जसको अर्थ हो ‘नयाँ-घरको शोभा’ । काइली छोरी जन्मे पछि सायद् श्रव छोराछोरी पुगे भन्ने हिसावले उनीलाई ‘चिरिकः शोभा’ भन्न पुगे, जस्को अर्थ हो ‘सानी शोभा’ । तर पुनः अर्को पल्ट पनि छोरी पाएछन् । ठाइँली छोरी जन्मदेखि सेती, टल्केकी थिइन्, त्यसैले उनीलाई ‘कयो’ ले सम्बोधन गर्न पुगे । ‘कयो’ को अर्थ हो- China clay cup ! बुबाआमाको छोरो पाउने रहर थियो क्यारे, अर्को पटक पनि छोरी जन्मदा (दिदीहरूले भनेको अनुसार) बुवा रीसले चूर भएर दुवै आमा-नवजात छोरीको अनुहार नै नहेरी बाहिर जानु भएछ । तर राति अबेर घर फर्केर कान्छी छोरीलाई नियालेर हेर्दा त कता-कता तिब्बती कास्की देखिएछ (छोरीहरू मध्येमा सबभन्दा आँखा चिम्सो भएकोले) । उनी देखेर शायद वहाँलाई आापने भूतपूर्व तिब्बतकी प्रेमिका ‘हिसिला’ (हेर्नोस् वहाँको “संदवा लिसः ” भन्ने नेवारी खण्डकाव्य) को सम्झना भएछ र त्यो हराएको प्रेमलाई जीवित तुल्याउनलाई आफ्नो कान्छी छोरीको नाउँ ‘हिसिला’ राख्न पुग्नु भएछ ।
शायद यो भन्नु त्यति अनुपयुक्त नहोला कि यी सबै नाउँहरू नेपालमा भेटाउन गाह्रो हुन्छ ।
धर्मरत्न र होरादेवी- एउटा अनौठो जोडी
सुने अनुसार राणाकालमा बुबा र आमा दुबै सहकर्मीको रूपमा राणाविरुद्धको आन्दोलनमा क्रियाशील रहनु भयो, सँगै जेल जानु भयो । तर म आफू त्यो घटनाको निकै पछि जन्मेकोले गर्दा वहाँहरूको त्यस सहकर्मिताको अवस्था हेर्न पाइ नँ। मलाई यति याद छ कि हाम्रो लागि आमा नै बुवा जस्तो हुनुहुन्थ्यो । कारण बुवा त एकजना सामाजिक राजनीतिक व्यक्ति हुनुहुन्थ्यो । वहाँ विहान देखि घुम्न, भेटघाट गर्न, गोष्ठिमा भागलिन जाने गर्नु हुन्थ्यो । आमाले पढाउने कामदेखि लिएर घर जग्गाको रेखदेख गर्ने काम सबै गर्नु हुन्थ्यो। धर्म- रत्न यमिलाई आमाले आफ्नो कान्छो छोरो जस्तो पुल्पुलाएर, स्वतन्त्र वातावरणमा हुर्काएको जस्तो लाग्थ्यो । अनि आमाको लालन पालनमा धर्मरत्न यमि एकजना सृजनशील साहित्यकार पनि बन्न पुगे । बुबाले यसको मर्म आमा दिवंगत भएपछि महशुस गर्नुभयो । सम्पूर्ण भार आँफुले लिनपर्दा वहाँले त्यतिबेला आफ्नी जेठी छोरीलाई यसरी पत्र लेख्नु भएको थियो, “तिमी हरूको त आमा मात्र मर्यो, मेरो लागि त आमा, जीवन साथी, श्रीमती तिनै एक्कै चोटि मर्यो ……”
धर्मरत्न यमिको स्मृति-एउटा पुनर्जन्मको अनुभव
म सानै भएता पनि मलाई याद छ बुवाले हाम्रो एकोहोरो पढाइको ब्यस्तता देखेर जिस्काउनु हुन्थ्यो, खोई तिमिहरुको पढाइको उपयोगिता ? मैले नपढ्दै कति कृतिहरु लेखें । हुन पनि त्यति बेला हामी सबै इन्जिनियर डाक्टर बन्ने धुनमा थियौं । सामाजिक शास्त्रको हाम्रो लागि महत्व थिएन । अनि स्वभावतः हामिलाई बुबाले लेखेको किताब, कृति, कविताहरुमा किन चासो लाग्थ्यो ? तर अहिले आएर मलाई महसुस भईरहेछ कि प्राविधिक कुराहरु त ज्ञानको एउटा सानो पक्ष मात्र हो । देशको राजनैतिक, आर्थिक स्वरुपले नै प्रविधिको प्रयोगलाई निर्देशन गर्दछ । अब आएर बुवाका कृतिहरु, कविताहरु पल्टाउँदा यस्तो लाग्दछ मानौं ती कृतिहरुले हाम्रा डिग्रीहरुलाई जिस्काउँदै छन् । हामिले ठुल-ठुला युनिभर्सिटीहरुमा डिग्री हासिल गर्यौं होला तर, बुबाको विश्वविद्यालय त यही धर्ती, यही माटो मात्र रहेछ जसले मान्छेलाई सर्वव्यापक रुपले संसारलाई नियालेर हेर्न सिकायो । यसको विपरीत हाम्रो डिग्रीले त हाम्रो आँखामा जागिरको लगाम मात्र लगाईदिएछ । उही घिसीपिटी बिहान १० बजे देखि साँझ ५ बजेसम्म हामी आफ्नो जागिरमा जान्छौं, त्यसैमा हाम्रो जिवन बित्दछ । बुबा अहिले हाम्रो वीचमा भएको भए भन्नुहुन्थ्यो होला- “तिमिहरुको जागीर त, जा……..गिर्” बराबर हो ! केही सृजनात्मक काम गर्ने फुर्सद छ, आँट छ ?
समग्रमा धर्मरत्न यमि
माथि उल्लेखित कुराहरु समग्रमा बुबा बारेमा तथ्यहरु मात्र हुन् । यसलाई एकछिन विश्लेषणात्मक र निष्पक्ष रुपमा हेर्दा म यो देख्न पुग्छु कि वहाँ २००७ साल अगाडी निकै गतिशिल, सृजनात्मक हुनुहुन्थ्यो ।
वहाँका अधिकांश चर्चित कितावहरु त्यही ताका लेखिएकाले पनि यसको पुष्टी हुन्छ । त्यसताका धर्मरत्न यमि र हीरादेवीको सम्बन्ध एउटा अनौठो आदर्श खालको थियो । उहाँहरु दुवै सहकर्मीको रुपमा रहेको देखिन्छ, संगै सभा जुलुसमा भाग लिने, जेल जाने गरेको देखिन्छ । तर २००७ साल पछि उहाँहरुको जीवनमा गुणात्मक परिवर्तन आएको देखिन्छ । यता आएर धर्मरत्न यमिको जोश, उमंग र सृजनात्मक कार्यहरुमा ह्रास आएको देखिन्छ भने उता हीरादेवी यमि सहकर्मिको स्थानबाट एउटी गृहणीको स्थानमा झरेको देखिन्छ ।
दुवै व्यक्तिहरुको ऐतिहासिक विकासक्रम हेर्ने हो भने एउटा रमाइलो उदाहरण मान्न सकिन्छ । दुबैजना नेपालको धनि परिवारमा जन्मेका थिए । उच्च वर्गका यी सन्तानहरुले राणाकालिन संघर्षको दौरानमा आँफुलाई वर्गच्युत (declass) गरेको देखिन्छ । फलस्वरुप उनीहरुको जीवन एउटा ब्यक्तिगत नभईकन सामाजिक जीवन थियो । तर जब राणाकाल अन्त्य हुन्छ उनीहरुको जीवनमा अर्को गुणात्मक परिवर्तन आउँछ उनीहरु सामाजिक (Social being) बाट व्यक्तिगत (Indivisual being) मा झर्दछन् । फलस्वरुप सामुहिक जीवनबाट आउने जोश उमंग, सृजनात्मक कामहरुमा ह्रास आउँछ । उता हीरादेवी पनि एउटी सामान्य गृहणीमा परिणत हुन पुग्छिन् ।
धर्मरत्न र हीरादेवीको जीवनले शायद यो प्रष्ट्याउँछ कि सिर्जनशिलता, जोश, उमंग र दाम्पत्य जीवनमा आदर्श सम्बन्ध पनि वर्ग सापेक्ष हुँदो रहेछ ।
* स्व० धमरत्न यमिको कान्छी छोरी हिसिला यसि आर्किटेक्चरल ईन्जिनीयर हुनुहुन्छ र हाल ईञ्जिनीयरिङ्ग क्याम्पस पुल्चोकमा उप-प्राध्यापक हुनुहुन्छ । |