नेपालको राजनैतिक परिदृष्यको एक सुपरिचित नाम हिसिला, विज्ञताले एक आर्किटेक्क र विद्यार्थी कालदेखि हाल साठीको दशकमा उक्लदैं गर्दा राजनीतिमा निरन्तर सक्रिय व्यक्तित्व हो । हालै पेन्गुइन बुकद्धारा प्रकाशित पुस्तक, “हिसिला विद्रोही देखि प्रथम महिला सम्म” चर्चाको शिखरमा रहेको छ । १० बर्षे उमेरबाट काठमाण्डौ छोडी भारतमा अध्ययन गरेकी निजले स्नातक स्कुल अफ प्लानिङ्ग एण्ड आर्किटेक्ट नयाँ दिल्लीबाट पुरा गरिन् । भारतमा छदै बाबुराम भट्टराईसँग प्रेम विवाह गरेकी उनकोे स्नातकोत्तरको अध्ययन एक छोरी मानुषीको जन्म पछि न्यूक्साल युनिभर्सिटी युकेबाट २०५०÷०५१ मा सम्पन्न गरिन ।
भारतमा आर्किटेक्ट इन्जिनियरिङ्ग अध्ययनकै क्रममा बाबुराम भट्टराई लगायत अन्य नेपाली विद्यार्थीको संगतले अखिल भारत नेपाली विद्यार्थी संघको माध्ययमबाट नेपालको राजनीतिमा कदम उठाएकी उनी नेपाल फर्किएपछि पनि विविध राजनैतिक र सामाजिक संघ संस्थामा निरन्तर आबद्ध रहिन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष, इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोकमा १३ बर्षसम्म अध्यापन, राष्ट्रिय, अन्तराष्ट्रिय संघ संस्थासँग जोडिदै सामाजिक कार्यमा पनि उत्तीकै पहलकदमी बढाएकी यी लेखिकाको राजनीति नै हालसम्मको मुख्य दिनचर्या बन्यो ।
२०५२ साल फाल्गुण १ गतेबाट शुरु भएको नेपालको १० बर्षे जनयुद्धमा अनायसै शुरुका दिनबाटै जोडिन पुगेकी हिसिला नेपाल कम्युनिष्ट पार्टीको पोलिट ब्यूरो सदस्य, महिला विभाग प्रमुख र अन्तराष्ट्रिय विभागकी सदस्य बनी पार्टी काममा डा. बाबुराम भट्टराईसँगै तल्लीन रहिन् । १० बर्षे जनयुद्धदेखि शान्ति प्रकृया हुँदै बृहत शान्ति सम्झौता पश्चात खुल्ला राजनीतिमा उनले गरेको योगदान अतुलनीय छ । दुई पटक सम्म संविधान सभा सांसद रहेकी लेखिकाले, क्रमशः २०६४ मा अन्तरिम सरकारको भौतिक योजना तथा निर्माण मन्त्री, २०६५ मा काठमाण्डौ निर्वाचन क्षेत्र नं. ७ बाट संविधान सभा सदस्यमा निर्वाचित भएपछि पर्यटन तथा नागरिक उड्ययन मन्त्री र २०६८ सालमा भूमिसुधार तथा व्यवस्थापन मन्त्री बन्ने अवसर प्राप्त गरिन् ।
भूमिगत अवस्थामा धेरै खाले उतारचढाव बेहोरेकी र शान्ति प्रकृयामा आयपश्चात पनि पार्टी भित्रका सबै अवयवहरुले सन्तुलित तवरले कार्य गर्न नसक्दा साथै डा. बाबुराम भट्टराई लगायत उनका नजिकका कार्यकर्ताहरुको उचित मूल्याङ्कन हुन नसकेको कारण नेपालको संविधान निर्माणको लगत्तै तीसौं बर्ष सँगै रहेको नेकपा (माओवादी) पार्टी परित्याग गरी २०७२ सालमा वैकल्पिक राजनैतिक धार वहन गरेको “नयाँ शक्ति पार्टी” नेपालमा सामेल भईन् । हाल हिसिला जनता समाजवादी पार्टी नेपालको कार्यकारी समिति सदस्य हुन् । ६१ बर्षीय लेखिकाले ३६८ पृष्ठ लामो यो अंग्रेजी आत्मवृतान्तमा आफ्नो बाल्यकालदेखि हालसम्ममा मीठा तिता भोगाई, अनुभव, आरोह, अवरोह, सुख, दुःख सम्पूर्ण पाटा र पक्षहरुलाई एक एक गरी केलाएकी छन् । एक राजनीतिज्ञको राजनैतिक विश्लेषण मात्र नभई हिसिलालाई एक महिलावादी शिर्ष राजनीतिज्ञ, योद्धा, प्रख्यात राजनीतिज्ञकी श्रीमती, आमा, छोरी, बुहारीको रुपमा यो पुस्तकले चित्रण गरेको छ ।
बहुआयामिक भूमिकामा देखिएकी हिसिला सम्भ्रान्त नेवार परिवारकी सातजना छोराछोरी मध्येकी कान्छी छोरी, दश बर्षमा आमाको निधन भोगेकी बाबुले सौतेनी आमा बिहे गरे पश्चात दिदीहरुले भारतमा लगी अध्ययनको माहौल मिलाइएकी, पढाई साथै खेलकुदमा अब्बल, पहाडीया मध्यम ब्राम्हण परिवारको छोरासँग प्रेममा परी विवाह बन्धनमा बाँधिएकी, एक छोरीकी आमा, १० बर्षे छोरीलाई छोडेर जनयुद्धमा श्रीमानसँगै भूमिगत माओवादी हुँदै खुल्ला राजनीतिमा सक्रिय नेतृृ, मन्त्री आदि उपनामकी मूल पात्र हुन् ।
तीन भागमा र ३८ विविध शिर्षकमा छुट्याइएको यो पुस्तकको पहिलो भागमा लेखिकाको बाल्यकाल र त्यो बेलादेखि नै उनको नेतृत्वदायी भूमिका उल्लेखित छ । अल्लारे उमेरमा उद्देश्य बिना पनि जिवन सहजै स्वतन्त्र ढंगले अघि बढ्छ भन्ने मान्यता राखेकी हिसिला अहिले आफ्नो बचपना गैह्र राजनीतिक भनाईप्रति अनौठो मान्छिन । जीवनको लक्ष्य पनि समाज लक्षीत हुँदै गयो । भारतमा अध्ययन गर्दा विशेषत बाबुराम भट्टराई, अन्य नेपाली विद्यार्थीको संगतले समाज र दुनियातिर हेर्ने चिन्तनले जिवनलाई राजनीतिमा मोडेको ठान्छिन साथै आफ्नो राजनैतिक गुरु बाबुराम भट्टराईसँग बिहे गरेकी लेखिका यदि राजनैतिक, लैगिक, सांस्कृतिक, बैचारिक जस्ता हरेक यात्रामा बाबुरामको सह–अस्तित्वले साथ नदिएको भए आफु आजकी हिसिला हुन सम्भव थिएन भन्नेमा स्पष्ट छन् ।
आफ्ना पिता, धर्मरत्न यमी नेपालको राजनीतिको नामुद व्यक्तित्व भएतापनि शुरुवाती दिनमा राजनीति भन्दा उनमा लैंगिक सजगता बढी थियो । सातजना सन्तानमा सबै दिदीबहिनीहरुले सरकारी विद्यालय पढेको र बुबाको सम्पुर्ण पैतृक सम्पत्ति एकलदाजुको नाउँमा रहेकोले यो किन भन्ने मनोगत सवालले उनमा लैंगिक सजगता देखाउँछ । त्यसो त धेरैले हिसिलालाई भाग्यमानी महिला भनेता पनि यस आत्मवृतान्तमा जिवनका धेरै उतार चढाव, भोगाई र असन्तुष्टि पनि सँगसँगै उल्लेख गरेकी छन् । बाहिरबाट असाध्यै सौहार्द लाग्ने यिनको जीवनमा झण्डै एकपल्ट बाबुरामसँग पारपाचुके गर्ने सम्मको सोचको व्याख्या छ ।
पुस्तकको दोश्रो भागमा जनयुद्ध बारे वृहत चर्चा गरिएको छ । छोटो समयको तयारीमा लेखिकाले आफ्ना सबै पारिवारीक, प्रध्यापन पेशा र इष्टमित्रलाई छोडेर भूमिगत जिवनमा हेलिएको जीवनको उर्जावान समय सन्दर्भ उल्लेख गरिएको छ । पूर्णकालिन माओवादी बन्दा के कस्ता मान्यताको सामना गरियो, नेताहरुसँगको सम्बन्ध, छलफल, व्यवहार, पार्टीमा दुइलाइन संघर्ष, एक्काइसौं शताब्दीको लोकतान्त्रिक विकासको रुपरेखा, भारतसँगको जनयुद्धकालको सम्बन्ध, अन्तराष्ट्रिय सम्बन्ध, रोल्पामा आधार इलाका, जनयुद्धभित्रका लैंगिक सवाल, पार्टीभित्र प्रेम, विवाह र बच्चाहरु, सांस्कृतिक समुह साथै नैतिकताको बहस, बलत्कार, दलित मुद्दा, राष्ट्रियता साथै पार्टीमा गणतन्त्रको मुद्दामाथि विजयका सवालहरु प्रमुख छन् । आकाशमा स्वतन्त्र रुपमा उड्ने चरा जस्तो जिवन जिएको व्यक्ति कसरी भूमिगत पार्टीको पूर्णकालिन कार्यकर्ता बनिन् र कसरी जनयुद्ध भोगिन भन्ने सवाल धेरै रोचक र विवेचनात्मक शैलिमा पस्किएकी छन् । जनयुद्धले देशको मात्र हैन उनको आफ्नै जिवनमा पनि कायापलट ग¥यो भन्ने उनको ठम्याई छ । नेतृत्वको केन्द्रीकरणले कसरी पार्टीमा अन्तरसंघर्ष निम्त्यायो र जनयुद्ध भित्रको अर्को युद्धले कति हदसम्म मर्माहत ग¥यो भन्ने विश्लेषण झनै मार्मिक छ ।
भौतिक रुपमा अरुले जस्तो लेखिकाले त्यति विधि चोट खप्न नपरेपनि, जनयुद्धमा दुई लाइनको संघर्षमा पार्टी भित्रै खप्नुपरेको अपहेलना, भेदभाव र पदवाट घटुवा, आफुलाई सिध्याउने सम्मको प्रयत्न आदि क्षणको सामना गर्दाको अनुभूति ज्यादै पीडादायी छ । पार्टीमा निहित पितृसतात्मक पुरुषवादी चिन्तन माथि खरो प्रहार छ । पार्टी हेडक्वाटरमा प्रचण्ड, किरण, बाबुराम, बादल र दिवाकरसँग निरन्तर कामगर्ने मेसो मिलेकोले र को नेता कस्ता भन्ने खरो टिप्पणी गरिएको छ । प्रचण्ड छिटो निर्णय गर्न सक्ने नेता तर शक्तिको भोको साथै अवसरवादी नेता भएको उनको ठहर छ । किरण बढी आदर्शवादी, शास्त्रीय माक्र्सवादी र चुनौती सामना गर्न नसक्ने नेतामा दर्ज भएका छन भने बादल पार्टीको आन्तरिक संघर्षमा राजनैतिक अडान राख्न नसक्ने नेता भएको र शास्त्रीय अवधारणा प्रति उन्मुख व्यक्ति भनेकी छन । संगत गरेका नेतामध्ये दिवाकर शालिन, भद्र र आदर्श कम्युनिष्ट भएको स्पष्टोक्ति छ । पम्फाको विचार किरणसँग मिल्दो र जनयुद्ध भर उनी कहिल्यै पार्टी मुलधारमा समाहित हुन नसकेको आलोचना गर्छिन । लेखिका स्व– विश्लेषणको सवालमा आफु बाबुराम भन्दा बेसी बुर्जुवा, स्वविचार स्वतन्त्र ढंगले राख्ने भन्ने छ भने उनी प्रति धेरै जसो नेताहरुको बुझाई, आधुनिक, स्मार्ट तर अराजक र बाबुरामलाई बिगार्ने भूमिका खेलेको भन्ने रह्यो ।
लेखिकाको भारतको भूमिगत बसाई रोचक घटनाहरुले समेटिएको छ । जनयुद्धमा धेरै जसो समय भारतमा बसी अन्तराष्ट्रिय विभाग र नेतृत्वको व्यवस्थापकीय जिम्मा लिनु उनलाई सहज थिएन । सामान्य गृहिणीले जस्तै टिका, चुरा, सारी, चस्मा लगाएर आफ्नो पहिचान छिपाएकी उनी कतिपय अवस्थामा एक्लै कोठामा बसिन । बाबुराम बेलाबेला भेट्न आउँदा घरधनीले रखौटी महिला हो भन्दा आफुले स्वीकारेको बताउँछिन । दुई लाईन संघर्ष चल्दै गर्दा बाबुराम हिसिला दुवैले भारतमा “मुन्ना भाई एम्.वि.वि.एस.” फिल्म हेरेको र नक्कली डाक्टरले आफ्नो कलाले कसरी सर्वसाधारणलाई प्रभाव पार्न सक्छन् र सक्कली डाक्टरको विरोधमा छलकपट गर्छन भन्ने व्यङग आफ्नै पार्टीमा पनि मेल खाएको उल्लेख गरेकी छन् । २०६१ सालमा रोल्पाको फुल्टीवाङ्गको बैठकमा पार्टी केन्द्रका प्रत्येक सदस्यले भारतमा धरपकठमा परेका नेताहरुको सवाललाई लिएर बाबुराम माथि शंका गर्दै दक्षिणपन्थी सार्थै भारतीय विस्तारवादको पक्षपोषण गरेको आरोप सुन्दा सुन्दा हिसिला आफूलाई नियन्त्रण गर्न नसकी अनायासै आँसु खस्दा बैठक हल छोडेर बाहिर निस्केको वृतान्तले पाठकको मन च्वास्स हुनु स्वभाविक हुनेछ र पार्टीको आन्तरिक संघर्ष, वर्ग संघर्ष भन्दा बढी पेचिलो र पीडादायी हुने उल्लेख छ ।
सम्पूर्ण उमेर पार्टी र जनयुद्धमा खर्चेकी हिसिलाले आफूलाई २१ औं शताब्दीको राजनैतिक सती उपमा दिएकी छन । पार्टीभित्र उनले पूँजीवादी, दक्षिणपन्थी र वुर्जुवा डिग्री हासिल गरेकी शहरीया धन्याड्य महिला भएको आरोप खेप्नु प¥यो । नेपाली भाषामा स्पष्टता नभएकी, तल्ला कार्यकर्ताको व्यवहारीक पक्ष नबुझ्ने, नजयुद्धमा छोरी मानुषीलाई सँगै नहिडाएकी, बाबुरामकी श्रीमती आदि खाले टिका टिप्पणी गरिए ।
पुस्तकको अन्तिम खण्ड – नयाँ शुरुवात शिर्षकबाट थालिएको छ जुन बढी पेचिलो र आलोचनात्मक छ । भूमिगत रजनीतिबाट पार्टी खुल्ला राजनीतिमा आउँदै गर्दा २०६२÷२०६३ मा दोश्रो जनआन्दोलन भयो । जसमा मध्यम वर्गको साथ लिदै माओवादी काठमाण्डौ छिरेको प्रसंग जोडिएको छ । अन्तत ः जनयुद्धको जग र दोश्रो जन आन्दोलनले राजसँस्थाको अन्त्य र गणतन्त्रको उदय भयो । प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बने । दुई पटक संसद सदस्य र तीन पटक मन्त्री पद ग्रहण गरेकी हिसिलाका शान्तिप्रकृया पछिका पाँच बर्ष धेरै उर्वर रहे तापनि पार्टी भित्रको पितृसत्तात्मक सोच र नजानिदो दुई लाइन संघर्ष, गुट, उपगुट यहाँ पनि कायमै रह्यो । त्यसो त प्रचण्डले आठ महिनामै प्रधानमन्त्री पदबाट राजिनामा दिने बाध्यात्मक परिस्थितिपछि क्रमशः उनको पतन भएको कुरा पुस्तकमा प्रस्ट्याईएको छ । पालुङ्गटार बिस्तारित बैठकले पार्टी भित्र बाबुरामको लाइन मजबुत हुँदै गर्दा धोबिघाटको अनौपचारिक बैठकले पहिलो चोटी प्रचण्ड पार्टी भित्र अल्पमतमा परेको, फलस्वरुप प्रचण्डको बाबुरामलाई प्रधानमन्त्री बन्न नदिने बखेडा अल्पमतमा प¥यो र अन्ततः बाबुराम संघीय गणतान्त्रिक नेपालको चौथो प्रधानमन्त्री बने पुस्तकमा उल्लेख छ ।
अर्थमन्त्री बन्दा जनताको मन जित्न सफल उनले प्रम हुँदा पूर्ण बजेट ल्याउन आफ्नै पार्टीबाट पनि सहयोग पाएनन् । पार्टी भित्र र बाहिरबाट अनेक अवरोध सामना गर्दै काठमाण्डौको बाटो विस्तार, लगानी बोर्डको स्थापना, हल्लो सरकार डेक्स संचालन, भौतिक पूर्वाधार विकासका राष्ट्रिय गौरवका आयोजनाहरु विकास गरे तर बजेट अभावमा यी कार्य अधुरा रहे । बाबुरामको साख गिराउन उता प्रथम महिला हिसिलालाई पार्टी भित्र र बाहिर उपेक्षा गरियो । यस पुस्तकको सबैभन्दा मार्मिक र हृदयस्पर्शी पाठ्य सामग्री यही हो जसमा लेखिकाले नसोचेका परिघटना उनीमाथि थोपरिए । पार्टीका महिलाहरु मध्ये सबैभन्दा उच्च शिक्षा हासिल गरेकी, जनयुद्धमा १० बर्ष भूमिगत जिवन भोगेकी, आर्थिक रुपमा अरुभन्दा राम्रो हैसियत भएकी यिनलाई विना प्रमाण कमिशनखोर र भ्रष्टाचारीको आरोप लाग्यो । “क्राइम टुडे” पत्रिकाले दक्षिण एशियाकै भ्रष्ट महिलाको आरोप थोप¥यो । यहाँ सम्म कि एकजना विकसित देशको महिला राजदुतले डा. भट्टराईलाई हिसिलासँग पारपाचुके गर्न दिएको सुझाव सुन्दा उनलाई अचम्मीत तुल्यायो । त्यसो त त्यसबेलाका कतिपय आन्तरिक बैठकहरुमा उनलाई डा. भट्टराईले समेत बोल्न नदिने र दिएपनि अन्त्यमा दिने व्यवहारले उनी धेरै दुखित भएको र महिला राजनीतिज्ञ प्रति पुरुषहरुको व्यवहार बुझ्ने अवसर मिलेको खुलासा गर्छिन । हिलारी क्लिन्टनको पुस्तक पढेपछि कसरी विश्वमा प्रथम महिलाको सक्रिय सहभागितालाई दुत्कारिन्छ भन्ने सन्देश मिलेको उनको भनाई छ । जीवन मरणको ठेगान नभएको जनयुद्धकालीन भूमिगत जिवन उनको बालु्वाटारको बसाइभन्दा धेरै हदसम्म खुशी र उमङ्गमय थियो ।
डा. भट्टराई प्रम हु्ँदै आफूलाई समानान्तर सरकार चलाएको आरोप लाग्यो । पार्टीको आर्थिक कमिटीको सदस्यको नाताले अर्थ संकलन गरेको तर भ्रष्टाचारको आरोपमा पार्टीले जिम्मेवारी नलिएको उनको दुखेसो छ । यसै प्रसङ्गमा उनले कम्युनिष्ट पार्टीले सत्ता चलाएको बेला स्तालिनद्धारा लेनिनको श्रीमतिलाई हिनताबोध गराएको कारण लेनिनको मृत्युपछि उनले राजनैतिक कित्ता परिवर्तन गरेको कुरा बयान गरेकी छन् ।
त्यसैगरी दोश्रो संसदीय निर्वाचनमा पार्टीले धेरै हदसम्म चुनाव हार्नुको मुल कारण पार्टी नेतृत्वको कमजोरी रहेको बताएकिछन् । पहिलो संसदीय चुनावमा प्रत्यक्ष तर्फ २४० सिटमध्ये १२० र समानुपातिक तर्फ ३५५ मा १०० सिट जित्न सफल पार्टी दोश्रो चुनावमा २४० प्रत्यक्ष तर्फको सीटमा जम्मा २६ हासिल भयो र माओवादी तेश्रो पार्टी बन्यो ।
लेखिकाको भनाइमा यो पार्टीको रणनैतिक हार थियो । समयमा संविधान दिन नसक्नु, आन्तरिक मतभेद गरी हारका आठवटा विविध कारणहरु किटान गरेकी छन् । प्रचण्ड र बाबुरामको सम्बन्धलाई यस पुस्तकमा नदीका दुई किनाराको उपमा दिइएको छ । बाबुरामलाई प्रचण्डको भन्दा प्रचण्डलाई बाबुरामको बढी खाँचो थियो । प्रचण्ड बाबुराम देखि तर्सन्थे, असुरक्षित महसुस गर्थे । प्रचण्ड, बाबुरामलाई नियन्त्रणमा राख्न पार्टीलाई साधन बनाउथे भने बाबुराम सार्वजनिक अपिल, मिडिया, नैतिक बल र अन्तराष्ट्रिय पकड र कहिले राजिनामा त कहिले मिटिङ्गमा भिन्न मत राखेर प्रचण्डका विरुद्ध सहमति दर्ज गर्थे । हिसिला लेख्छिन, नेताहरु मध्ये, प्रचण्डसँगको उनको पहिचान र सम्बन्ध सबैभन्दा पुरानो र नजिकको थियो । सीता दाहाल छलछाम नभएकी सिधा दृष्टिकोण राख्ने महिला हुन् तर प्रचण्ड षडयन्त्रीकारी भएको दाबी गर्छिन । प्रचण्ड बाबुरामको राजनैतिक–वैचारिक बहसलाई स्वीकार्ने तर कार्यान्वयन ठीक उल्टो गर्ने व्यक्ति हुन । बाबुराम र आफ्नो सम्बन्धबारे उनको बुझाई, आफु स्वतस्फूर्त व्यक्ति र बाबुराम समाजप्रति समग्र अवधारणा भएको व्यक्ति साथै महिलाका मुद्दामा लेखिकाभन्दा बढी नारीवादी भएको भन्ने छ । प्रम गिरिजाप्रसाद कोइरालाको क्याविनेटमा मन्त्री हुँदाको अनुभवमा गिरीजा थोरै बोल्ने तर काम धेरै गर्ने व्यक्ति भएको, ८२ बर्षे उमेरमा पनि मानसिक रुपमा चनाखो साथै समसामयिक घटना र समाचारप्रति राम्रो हेक्का राख्ने व्यक्तित्व भएकोमा प्रशंसा गर्छिन ।
पुस्तकको तेश्रो खण्ड माओवादी खुल्ला राजनीतिमा आएदेखि हालसम्म राजनीतिमा के कस्ता परिवर्तन आए भन्ने व्याख्या गरिएको छ । राजतन्त्रको अन्त्य हुँदाका अनूभूति, चुनाव जित्दा र हार्दाका कारणहरु शक्तिको उन्मादका कारण प्रचण्डको पतन, छोरीको हुर्काई, सेना समायोजन र राज्य पुनसंरचना, डा. भट्टराईले माओवादी पार्टी छोडी नयाँ वैकल्पिक शक्ति निर्माणका कुराहरु प्रष्ट्याइएका छन् । अबको राजनीतिको नयाँ बाटो, एक्काइसौं शताब्दीको लोकतान्त्रिक विकासको अभ्यास र आर्थिक रुपान्तरणका लागि आर्थिक वृद्धि, समावेशी सहभागितामुलक, दिगो समाजवादको स्थापना गर्नु नै हो, उनको बुझाई छ ।
अतः नेपालको जनयुद्ध र त्यसपछिका परिणतिहरु बारे अंग्रेजी भाषामा यति विस्तृतमा सायदै पुस्तकहरु लेखिएका छन् । दश बर्षे जनयुद्धमा अर्थपूर्ण सहभागिता जनाएकी लेखिकाले डा. भट्टराईले भन्दा बढी पूर्णतामा आफू जिएको उल्लेख गर्छिन । बेलायतमा डिप्रेशनको शिकार, दोश्रो संविधान सभा चुनावमा हारको सामना, जिवनको कुनै बिन्दुमा पारपाचुके गर्ने सम्मको सोचमा आउनु उनका जिवनका भिन्न पाटाहरु हुन । यस पुस्तकमा राखिएका तथ्यपरक र स्पष्ट धारणाले लेखिकाको इमान्दारीता झल्काउँदछ । गरिबी र शोषण रहेसम्म पितृसत्ता रहिरहन्छ र पितृसत्ताले यी कुराको अन्त्य हुन दिंदैन । तसर्थ शोषण र उत्पीडन विरुद्ध जनयुद्ध अघिबाट उडकमा उत्रेको म अहिले पनि सडकमै फर्किए र यो क्रम जारी रहनेछ भन्ने उनको निचोड छ । संसारमा धेरै आन्दोलनहरु भए, तथापी गरिबी, शोशित र महिला सबैभन्दा पछि मुक्ति हुनेछन् भन्ने उनको तथ्यपरक अभिव्यक्ति ध्रुवसत्य छ ।
राजनीतिलाई मुल बिषयवस्तु बनाएता पनि पुस्तकका विभिन्न पाटा पक्षले यो पुस्तक राजनीतिज्ञ, विद्यार्थी, शोधकर्ता, अनुसन्धानकर्ता, नारीवादी, योद्धा, साथै नेपालको जनयुद्धलाई सुक्ष्मरुपमा अध्ययन गर्न खोज्नेहरुका लागि अब्बल छ । हिसिलाको सम्पूर्ण पहिचान खोज्न यो पुस्तक पढ्नै पर्ने हुन्छ । लेखिकालाई शुभकामना छ ।
दु्र्गा न्यौपाने – कोटेश्वर, काठमाण्डौ,
[email protected]