https://ekantipur.com/koseli/2021/08/21/162951272192242900.html
विसर्जनको मार्गचित्र
Highlights
- सामान्य नेपाली महिलाले जनयुद्धमा खेलेको भूमिकाबारे पुस्तक बोल्दैन । दलित, जनजाति, मधेसी, उत्पीडित क्षेत्रका प्रसंगहरु प्रसंगवश मात्रै आएका छन् ।
हिसिला यामीको किताब ‘हिसिला यमी फ्रम रिभोल्युसनरी टु फस्ट लेडी’ विश्वचर्चित प्रकाशनगृह पेन्गुइन र्यान्डम हाउस इन्डियाबाट अंग्रेजी माध्यममा सन् २०२१ मा प्रकाशित भयो । देशमा कोरोना संक्रमणका कारण हुन सक्छ, पुस्तकको त्यति चर्चा भएको छैन ।
वास्तवमा पुस्तक पढ्नलायक छ । पहिलो त यो एक जना जनयुद्धकी सहयात्रीले लेखेकी छन् । अर्को, हिसिला आफैंमा जनयुद्धकी पहलकर्ता महिलामध्ये एक हुन् । बाबुराम भट्टराईकी जीवनसंगिनी पनि भएकाले जनयुद्धको तयारी, जनयुद्धकाल, शान्तिप्रक्रिया, माओवादी आन्दोलनमा उतारचढाव, उनी र उनका जीवनसाथीले किन र कसरी मार्क्सवाद नै परित्याग गरे भन्ने तथ्यलाई उनको पक्षबाट सरल, स्पष्ट र सजीव रूपमा उतारिएको छ ।
किताब वास्तवमा आत्मकथा हो । ३४६ पृष्ठको पुस्तकमा हिसिलाले आफ्नो बाल्यकाल, बुबा धर्मरत्न यामीको पारिवारिक, राजनीतिक, सामाजिक भूमिकाबारे ३८ वटा उपशीर्षकमा प्राय: सबैमा प्रशंग समावेश गरेकी छन् । काठमाडौंको एक सचेत, आर्थिक रूपमा सम्पन्न परिवार, मन्त्री बनिसकेका र राणाविरुद्धको आन्दोलनमा सामेल धर्मरत्न यमीकी छोरी हुन् हिसिला । १८ वर्षको वयमा बाबुरामसँग भेट हुँदा उनले हिसिलालाई ‘भविष्यमा के बन्छ्यौ ?’ भनी सोधेको प्रसंगबाट किताब शुरु हुन्छ । पहिलो अध्ययायको शिर्षक नै ‘ह्वाई ह्याभ एन एम इन लाइफ’ छ । पुस्तक ‘शुरुवात’, ‘जनयुद्ध’ र ‘नयाँ सुरुवात’ गरी ३ भागमा लेखिएको छ । किताबमा हिसिलाको औपचारिक शिक्षा–यात्रा, बाबुरामसँगको भेट, प्रेम–विवाह, जनयुद्ध तयारीदेखि विधिवत अन्त्य, शान्तिप्रक्रिया, पुष्पकमल दाहाल–बाबुरामबीचको अन्तर्विरोध हुँदै पार्टी अनि सभासद्बाट राजीनामा, नयाँ शक्ति, जनता समाजवादी पार्टी निर्माणसम्मका राजनीतिक, वैचारिक घटना, अन्तर्विरोध र बाबुरामको बौद्धिक क्षमताको वर्णन गरिएको छ ।
माओवादी आन्दोलनमा सहभागि भएपछि भोग्नुपरेका असहजता, असमझदारीलाई उच्च प्राथमिकताका साथ व्याख्या गरिएको छ । पार्टीभित्र पढेलेखेको व्यक्ति बाबुराम र हिसिलाले बुर्जुवा भनेर खेप्नुपरेको आरोप, मानुषीलाई उच्चस्तरीय शिक्षा दिन झेल्नुपरेका व्यवधान, ‘जनयुद्ध’ थाल्दा आफूले बनाएको घर छोड्नुपर्दाको पीडा र त्यो बेला भारतमा बस्दा डेरा खोज्दाका झमेलासम्मलाई समेटिएको छ । हिसिलाले प्रचण्डलाई गतिशील, बहिर्मुखी, कार्यकर्ताको भावना बुझ्ने र बाबुरामलाई पढेर वा जानकारी पाएर दिएका सूचना वा धारणालाई आफ्नो बनाई कार्यकर्ताबीच प्रस्तुत गर्न सक्ने व्यक्तिका रूपमा अघि सारेकी छन् । बाबुरामलाई बौद्धिक, सर्वज्ञाता तर अन्तरमुखी, कार्यकर्ताको भावना बुझ्न नसक्ने व्यक्तिका रूपमा प्रस्तुत गरेकी छन् ।
प्रचण्ड र बाबुराम एकअर्काका प्रतिस्पर्धी र विपरीत भनेर समेत उनले चिनाएकी छन् । तर, जनयुद्धलाई सञ्चालन गर्नेदेखि शान्ति प्रक्रियामा सहज तरिकाले अवतरणसम्म बाबुरामको वैचारिक र राजनीतिक क्षमताले काम गरेको सगर्व उल्लेख छ । रमाइलो विषय त २०५२ साल माघमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको ४० बुँदे, २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनको ‘महान् अग्रगामी छलाङ : इतिहासको अपरिहार्य आवश्यकता’, रोल्पाको गैरीगाउँमा २०६० सालमा बसेको केन्द्रीय समिति बैठकको ‘एक्कासौं शताब्दीमा जनवादको विकासबारे’ र २०६२ सालको असोज १८-२२ सम्म बसेको चुनवाङ बैठकको चर्चित ‘राजनीतिक एवं संगठनात्मक प्रस्ताव’ दस्तावेजको मुख्य हकदार बाबुराम रहेको भनिएको छ ।
उनले प्रचण्डको प्रशंसा पनि गरेकी छन् । जनयुद्ध सुरु भएपछि भारतमा रहँदा केन्द्रीय कार्यालयमा प्रचण्डको सहयोगी भएका बेला सहज सहकार्य भएको हिसिलाको भनाइ छ । कार्यकर्तामा सहज पहुँच, मिलनसार र गरम स्वभावले आफू प्रभावित भएको स्विकारेकी छन् । प्रचण्ड एकदमै करिस्म्याटिक रहेको हिसिलाको धारणा छ । प्रचण्डमा नेतृत्वमा हुने धेरै विशेषता रहेको, तर उनी षड्यन्त्रकारी पनि हुन् भनेर हिसिलाले द्विविधात्मक चित्रण पुस्तकमा गरेकी छन् । ‘इनोसेन्स भर्सेस कन्स्पिरेन्सी’ शीर्षकमा प्रचण्डलाई षड्न्त्रकारी र आफूलाई निर्दोष भनेर समेत उनले उल्लेख गरेकी छन् ।
हिसिलाले पुस्तकमा सबैभन्दा बढी मन नपराएका पात्र हुन्, मोहन वैद्य ‘किरण’ । किरण जडसूत्रवादी मार्क्सवादी रहेको उनको धारणा छ । किरणले मार्क्सवादलाई जडका रूपमा बुझेको र यसलाई शास्त्रीय रूपमा प्रयोग गर्नुपर्ने, सिद्धान्तभन्दा एक इन्च यताउता हुन नहुने भनी उनले अनावश्यक अन्तर्विरोध मच्चाएको हिसिलाको आरोप छ । बाहिरी रूपमा प्रचण्ड र बाबुरामबीच अन्तर्विरोध देखिए तापनि आन्तरिक रूपमा बाबुराम र किरणबीच वैचारिक र राजनीतिक भिन्नता रहेको स्वीकारोक्ति हिसिलाको छ ।
२०५५ सालको चौथो विस्तारित बैठकमा पेस भएको दस्तावेजको मुख्य सार किरणको थियो । र, त्यसबेला ‘आधार इलाका निर्माण, नेतृत्व केन्द्रीकरण’ जस्ता प्रस्ताव पारित भएकाले प्रचण्ड पार्टीमा शक्तिशाली बन्न पुगेको हिसिलाको तर्क छ । हिसिलाले बाबुरामसँगको आफ्नो सम्बन्धबारे पनि पुस्तकमा उल्लेख गरेकी छन् । ‘माई रिलेसनसिप विथ बिआरबी, कम्प्लिमेन्ट्री एन्ड कन्ट्राडिक्टरी’ शीर्षकमा उनले आफूहरूबीचको अन्तर्विरोधबारे भने खासै चर्चा गरेकी छैनन् । अन्य शीर्षकमा भने अन्तर्मुखी र बहिर्मुखी स्वभावको टकराव स्पष्ट बुझ्न सकिन्छ । जब पार्टीभित्र अन्तर्विरोध देखापर्थ्यो, हिसिलाकै भाषामा बाबुरामले उनलाई बोल्न नदिने गरेको कुरा पुस्तकमा छ । उनले यतिसम्म भनेकी छन्, ‘मैले भित्तासँग बिहे गर्न पुगेछु ।’
पुस्तकमा हिसिलाले जति विषयवस्तु प्रस्तुत गरेकी छन्, ती तथ्यमा आधारित छन् । सबैभन्दा राम्रो पक्ष जनयुद्धका क्रममा भएका गतिविधि, उत्पीडित वर्ग, क्षेत्र, लिंगका युवायुवतीहरूको सहभागिता, उनीहरूको त्याग, बलिदान र समर्पणको खुलेर प्रशंसा गरिएको छ । जनयुद्धले नामेट पारेको लिंगीय, क्षेत्रीय र सामाजिक विभेदको व्याख्या पनि गरिएको छ । गणतन्त्र, संघीयता, धर्म निरपेक्षताको मुख्य आधार जनयुद्धलाई मानिएको छ । जनतामा विकास भएको विद्रोही चेतना जनयुद्धले ल्याएको भनिएको छ । यसरी सापेक्षित रूपमा जनयुद्धका सबल पक्षलाई उजागर गरिएको छ । जनयुद्धको सही मूल्यांकन गर्न कुनै कञ्जुस्याइँ गरिएको छैन । यो असाध्यै सबल र माओवादीका लागि सर्वस्वीकार्य हो ।
तर, हिसिलालाई मन नपरेका र राम्रा–नराम्रा पक्षबारे पुस्तकमा जानाजान नजरअन्दाज गरिएको छ । हिसिलाको आत्मकथा भए पनि पुस्तकलाई बाबुराम भट्टराईको प्रशंसाको पुलिन्दा भनिदिए हुन्छ । त्यसैले जनयुद्धको एकपक्ष बाबुराम भट्टराई हुन् । र, हिसिलाकै भनाइ सापटी लिने हो भने पनि माओवादी आन्दोलनले यो दुर्गति बेहोर्नुको कारण ‘बाबुरामको कार्यदिशालाई प्रचण्डले स्विकारेकाले हो’ भन्ने निष्कर्ष निकाल्नुपर्छ । हिसिलाको यो अभिव्यक्ति स्विकार्न सकिँदैन । यदि यो सही हो र चुनबाङ बैठकमा पारित प्रतिवेदन बाबुरामले तयार पारेका हुन् भने हिसिलाले एउटा वाक्यांश कतै उल्लेख गरेकी छैनन् । गणतन्त्रबारे लेखिएको त्यो वाक्य हो, ‘…निश्चय नै यसप्रकारको गणतन्त्रलाई प्रतिक्रियावादी वर्ग र तिनका पार्टीहरूले बुर्जवा गणतन्त्रमा बदल्न बल गर्नेछन् भने सर्वहारावर्गको हाम्रो पार्टीले त्यसलाई नयाँ जनवादी गणतन्त्रमा बदल्न प्रयत्न गर्नेछ ।’ वास्तवमा माओवादी आन्दोनको यो हविगत हुनुको मुख्य कारण यही वाक्यांशको अपव्याख्या र नेतृत्वको छद्म चरित्र हो ।
त्यसै दस्तावेजमा हेडक्वार्टरलाई जे पनि गर्न सक्ने अधिकार दिइएको थियो । सधैंभरि प्रचण्डलाई केन्द्रीकरणका नाममा दिइएको अधिकारले आफूहरू निरीह भएको भन्दै अन्तर्संघर्ष गर्ने बाबुरामहरूले यस्तो निर्णयको किन विरोध गरेनन् ? यही सम्पूर्ण अधिकार हेडक्वार्टरमा सीमित गरिएकाले १२ बुँदे समझदारी र बृहत् शान्ति सम्झौताबिना कुनै सम्मेलन, भेला वा बैठकबाट निर्णय गर्दा बाबुरामहरूले जनवादको कुरा किन नउठाएको भन्नेमा पनि पुस्तक मौन छ ।
किरणको पटनाको गिरफ्तारीलाई पनि यहाँ सामान्य मानिएको छ । किरण स्वयंले आफ्नो गिरफ्तारीमा संशय व्यक्त गरेका छन् । ‘जनयुद्ध’ सुरु गर्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी
(माओवादी) मा अघोषित तीन सदस्यीय कोर टिम बनाइएको थियो- प्रचण्ड, किरण र बादलको । यो विषय यहाँ लुकाइएको छ । पुस्तकमा जनयुद्धकालीन सांगठानिक संरचना, प्रचारप्रसारलाई जस्ताको त्यस्तै राखिएको छ । विद्रोही शक्तिले केन्द्रीय सत्ता कब्जा गरिसकेपछि कैयौं प्राविधिक कुरालाई सार्वजनिक नगरिएको पाइन्छ । यत्तिको इमानदारी हिसिलामा देखिँदैन ।
जनयुद्ध सुरु भएको केही महिना प्रचण्ड र बाबुराम पनि देशमै थिए । जब देशमा तत्कालीन सरकार र सत्ताले अन्धाधुन्ध नेता, कार्यकर्ता र जनताको हत्या गर्न थाल्यो अनि नेतृत्वको सुरक्षाको प्रश्न निकालिएर २०५३ कात्तिक ९ को केन्द्रीय कार्यालयको विशेष परिपत्रमा दिइएको निर्देशनलाई अध्ययन गरियो भने जनयुद्धमा राजनीतिक, वैचारिक र सांगठानिक समस्या सृजना गरिएको थियो भन्ने बुझ्न सकिन्छ । केन्द्रीय सामन्तवाद र त्यसलाई टेको लगाउन आएको भारतीय विस्तारवादविरुद्ध संघर्ष गर्ने विषयलाई पार्टीले उक्त सर्कुलरपछि छाडिएको सन्दर्भ पुस्तकले बोल्दैन । सर्कुलरसँगै मुख्य नेतृत्व भारतमा बस्दै आएको थियो । प्रचण्ड आफैंले ८ वर्ष भारत बसेको स्विकारेका छन् । तर, यो तथ्य पुस्तकमा छैन ।
सामान्य नेपाली महिलाले जनयुद्धमा खेलेको भूमिकाबारे पनि पुस्तकले केही भनेको छैन । पार्टीको केन्द्रीय तहमा रहेर काम गरेका जयपुरी घर्ती, सरला रेग्मी, उमा भुजेल, ओनसरी घर्ती, कमला रोका, लक्ष्मी श्रेष्ठहरूबारे पनि खासै चर्चा छैन । हिसिलाजीलाई मनपर्ने केही महिलाको प्रसंग भने उठाइएको छ । तर बिन्दु, स्वप्नशीला, कल्पना, अनुपम, समीक्षा, गौरीकला विकजस्ता महिलाको कुनै सन्दर्भ उल्लेख छैन । दलित, जनजाति, मधेसी, उत्पीडित क्षेत्रका प्रसंग प्रसंगवश मात्र आएका छन् ।
प्रकाशित : भाद्र ५, २०७८ ११:१२