Posted on

जनयुद्ध अघि

जनयुद्धभन्दा अघि महिलाको आन्दोलन लोकतान्त्रिक आन्दोलनसँगसँगै विकास हुँदै गएको देखिन्छ । पञ्चायत, राजतन्त्र र एकमनावाद राज्यको संयन्त्रको विरोधमा महिलाहरु पुरुषसँगै आन्दोलित हुँदै गए र जेल-नेल पनि खाए । लोकतन्त्रभित्रको त्यो लडाइँमा लैङ्गिक अधिकार पनि समावेश गर्दै आएको छ । सुरुमा राजनीति निकायमा आरक्षणको अवधारणा थिएन । २०४६ सालको जनआन्दोलनपछि सदनमा छ प्रतिशत महिला उम्मेद्वार उठाउनुपर्ने अनिवार्य व्यवस्था गरियो । तर कुनै पनि पार्टीले महिलाहरुको अनिवार्य पहुँच आफ्नो पार्टी संरचनामा ल्याउन जरुरत ठानेन । हरेक पार्टीभित्र विरलै महिला एक्लै राजनीतिकरुपमा पहल लिई अगाडी आएको देखिन्थ्यो ।

प्राय: महिलाहरु सक्रिय थिए भने त्यो उनका श्रीमान् वा दाजुभाईहरुको कारणले देखिन्थ्यो । राजनीतिक पार्टीको काममा भन्दा मोर्चामा, त्यसमा पनि महिला संगठनहरुमा बढी सक्रिय भएको देखिन्थ्यो । कुनै पार्टीमा त अघोषीत नीति लिइन्थ्यो – पूर्णकालिन राजनीतिमा लागेका श्रीमानलाई आफु स्वरोजगार वा रोजगारी भई उनलाई सहयोग गर्ने निति लिईन्थ्यो । त्यस किसिमको कामलाई नै पार्टीको कामको मुल्याङकन समेत गरिन्थ्यो । यस्तो अवस्थामा महिला आन्दोलनले क्रमभङग गर्ने वा फड्को मार्ने कम सम्भावना हुनु स्वभाविक थियो । फलस्वरुप महिला आन्दोलन क्रमिकरुपमा अगाडी बढ्दै गयो । सबै पार्टीभित्रका महिला मोर्चाले नियमित ८ मार्च मनाउनुभन्दा क्रमभङग हुने आन्दोलन हुँदैन थियो । समयले मागेअनुसारको महिला हिंसाविरुद्ध सङ्घर्ष हुन्थ्यो । महँगीविरुद्ध थाल ठटाएर जुलुस निकालिन्थ्यो । बल्ल २०४६ सालको जनआन्दोलनमा महिलाहरुको सक्रिय भूमिका ह्वात्त बढ्यो । तर पनि महिला आन्दोलन मुलतः शहर केन्द्रीत, शिक्षित केन्द्रीत र मध्यवर्ग केन्द्रीत थियो ।

जनयुद्धकाल

देशमा चल्दै गएको क्रमिक सुधार महिला आन्दोलनमा जनयुद्धले ठुलो धक्का दियो र क्रमभङ्ग गरिदियो । यसको दायरा फराकिलो पनि पारिदियो । शहरमा केन्द्रीत, शिक्षित केन्द्रीत र मध्यवर्गमा सिमित महिला अधिकारका कुरा अब गाउँमा, विकटठाउँमा, गरिब बस्तीमा र हिमाल, पहाड, तराईसम्म गुञ्जन थाल्यो ।

सत्ता बन्दुकको नालबाट जन्मिन्छ भनेर सिकायो र सो अनुसार सत्ताको अङ्ग जनसरकार, जनसेना र जनअदालमा आफ्नो पहुँच बढाउन सिकायो । पार्टीभित्र सुरुमै महिलालाई प्रशिक्षण दिईयो, अब महिलाले भौतिक, नैतिक र आर्थिक सहयोग मात्र दिने होइन, आँफै अगाडी आएर राजनीतिक पहलकदमी लिनुपर्छ । तसर्थ जनयुद्ध शुरु हुनुअघि एकजना मात्र महिला पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य भएकोमा पछि गएर दशसम्म पुग्यो, साथै दुईजना पोलिटब्युरो सदस्यसम्ममा पुगे । राजनीतिक पहलकदमी पछि गएर फौजी क्षेत्रमा पनि महिलाहरु सेक्सन कमान्डर, कमिसनारदेखी लिएर बेग्रेडिएर कमिसनारसम्म बन्न पुगे राजनीतिक र फौजि पहलले ल्याएको आधार इलाकाका सत्तामा पनि महिलाहरुको सहभागिता बढ्दै गयो । जिल्ला सत्ताका प्रमुखसम्म बन्न सफल भए । साथै न्याय क्षेत्रमा जनअदालतको कार्यमा समेल महिलाहरु न्यायसम्बन्धि तालिम दिई जनअदालतमा सक्रिय भएको देखियो । यसरी महिलाहरुलाई क्रान्तिका सबै अङ्गहरुमा समाहित भएको देखियो ।

चुलोमा सीमित महिलालाई जनयुद्बपछि सत्ता चलाउने शासकसमेत बन्ने अवसर दियो । त्यति मात्र नभएर पार्टीभित्रको महिला मोर्चा खाली महिला अधिकारको कुरामा मात्र सीमित नभएर हरेक क्षेत्रमा महिलाहरुको नेतृत्व उत्पादन गरेर पठाउने निकाय बन्न पुगे । जहाँबाट शैक्षिक क्षेत्र, सैन्य क्षेत्र, उत्पादन क्षेत्र,  राजनीतिक क्षेत्र र विभिन्न मोर्चामा दक्ष कार्यकर्ता उत्पादन गरेर पठाउनेमोर्चा बन्यो । महिलाहरुले आफ्नो गहना बेचेर विभिन्न सहकारिमा लगानी गर्न थाले । फलस्वरुप  महिला मोर्चा सबैभन्दा धनि मोर्चा ठहरियो । त्यसमाथि महिला मोर्चाकै नाबाट पैतृक पाएको प्रमाणपत्र पाउँदा महिलाहरु झन् उत्साहित भए ।

महिलाकै हातबाट जनअदालमार्फत लैङ्गीक हिंसा गर्नेहरुलाई प्रत्यक्ष दण्डित गरेको देख्न पाउँदा झन् आँफुहरु सशक्तिकरण भएको महसुस भयो । साथै रक्सी विरोधि आन्दोलनले तिनीहरुको उत्पादन शक्ति, सिर्जनशिल शक्ति र ईच्छाशक्ति ह्वात्त बढेको देखियो ।

एकताको सैन्य क्षेत्रमा पुरुषभन्दा महिला बढी हुन थाल्यो । महिलाको लमगी अलग्गै सेक्सन मात्र नभएर प्लाटुन र केही समयको लागि कम्पनिसम्म बन्न पुग्यो । त्यस्तै सैन्य दस्तामा राजनीति हाँक्ने कमिसनार बन्न पुगे  । युद्धका दौरानमा महिलाहरु ब्रिगेडर कमिसनारसम्म पुगे तर डिभिजन कमिसनारवा कमान्डरसम्म पुरुषसरह पुग्न सकेनन् । महिलाहरु पुरुषहरुको तुलनामा बढी बलिदानी, साहसि र प्रतिबद्धताको प्रतिक बन्न सफल भए । नेपालको इतिहासमा महिलाहरुको यत्रो सङ्ख्या पूर्णकालिन कहिल्यै पनपि भएको थिएन् । युद्ध मैदानमा ३ हजारभन्दा बढी महिला साहदत भएका छन् ।

बलिदानको कुरा गर्दा महिलाको यो क्षेत्रमा उच्च मूल्याङ्कन माओवादी पार्टीले रेको छ । सैन्य क्षेत्रमा दिलमाया योञ्जन पहिलो सैन्य शहीद थिइन्, जो बेथान सैन्य कारबाहीमा वीरताका साथ लड्दालड्दै ढलिन् । त्यस्ते दुई जीउ भएकी बन्दा चौलागाईलाई पुलिसले माओवादीलाई खाना दिएको निहुँमा यति यातना दियो के सुरूमा पेटको बच्चा मर्यो, पछि आमा पनि मरिन् । त्यस्तै कमला भट्ट जो कुलको शिक्षक र साथै गोरखा जिल्लाको माओवादी महिला सङ्घको अध्यक्ष थिइन्, उनलाई बलात्कार गरी निर्मम हत्या गरियो । त्यस्तै उमा भुजेलको नेतृत्वमा भएको गोरखा जेल ब्रेक उल्लेखनीय छ, जसमा ६ जना महिला भाग्न सफल भए । यस्तै कालिकोटका दलित महिलाहरूले पुलिसबाट हतियार खोसी पार्टीलाई बुझाएको पनि उल्लेखनीय छ । अझ रोल्पाका महिलाहरु त पार्टी, सेना मोर्चा र उत्पादन क्षेत्रमा धेरै नै सक्रिय थिए र बलिदानमा पनि उत्तिकै कृतिमान राखे ।

राजनीतिक क्षेत्रमा महिलालाई प्रतिक्रान्ति रोक्ने बाहकको रूपमा पार्टीले तिनीहरूलाई परिचित गराए । निरन्तर क्रान्तिको पक्षधर भनी तिनीहरुलाई पार्टीभित्र, सेनाभित्र र सत्ताभित्रको महत्वपूर्ण ओहदामा ल्याउन थाले । महिलालाई चौतर्फी सशक्तीकरण गर्ने दृष्टिकोणबाट नै महिला विभाग युद्धकै दौरानमा गठित भयो । यसले युद्ध मैदानमै महिलासम्बन्धी रणनीतिक र तत्कालीन समस्या समाधान सम्बन्धी विस्तृत तथ्याङ्क सङ्कलन गरेको थियो । राजनीतिक क्षेत्रमा यद्यपि दुईजना महिला पोलिटब्युरोमा पुगे पनि पुरूषसरह स्टान्डिङ कमिटीमा पुग्न सकेनन्, न अध्यक्षमा पुग्न सके ।

माओवादी जनयुद्धमा महिलाहरुको बढ्‌दै गएको भूमिका र यसले ल्याएको प्रभावकारी परिणाम देखेर नै त्यति बेलाको पुरानो राज्यसत्ताले आफ्‌नो सुरक्षा निकाय सेना, प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर विभागमा समेत महिला भर्ती गर्न थाल्यो । त्यति मात्र नभएर महिलासम्बन्धी काम गर्ने गैरसरकारी संस्थाहरूले समेत महिलाहरुको सुधारका काममा तीव्रता ल्याउन थाले । उदाहरणको लागि विधवाहरुले रातो टीका तथा रातो पहिरन लगाउन पाउनुपर्ने आन्दोलन अगाडि सारे ।

हाल स्थानीय सत्तामा महिलाको सहभागिता ४० प्रतिशत हुनुपर्दछ भन्ने अवधारणा जनयुद्धले नै ल्याएको हो । त्यति बेला युद्धमा, आधार इलाकामा महिलालाई काम गर्न सहजीकरण गर्नको लागि कम्युन र होस्टेलको पनि व्यवस्था गरिएको थियो । विवाहको उमेर हदबन्दीसमेत दुवै महिला-पुरूषको लागि २० वर्ष तोकेको थियो । त्यति बेला महिलाहरुको सामाजिक अवस्थामा ठूलो परिवर्तन आएको थियो । विधवाले पुनर्विवाह गर्न पाए । अन्तरजातीय विवाह धमाधम विनाहिच्किचाहट हुन थाले । दलित-गैरदलितबीचमा समेत विवाह हुन थाल्यो । साथै अन्तरक्षेत्रीय हुँदै अन्तरदेशीयसमेत विवाह हुन थाल्यो। महिलामाथि हिसा गर्नेलाई प्रत्यक्ष दण्ड, सजाय दिन थालेपछि जनयुद्धमा उनीहरुको आकर्षण अझ बढ्न थाल्यो । मदिराविरूद्धको आन्दोलनले त झन् जनयुद्धको सन्देशलाई घर- घरमा पुयायो । त्यति बेला छाउपडी, बोक्सी प्रथा तथा बहुविवाह अन्त्य गर्ने अभियान थालिएको थियो ।

युद्धकालमा पहिचानसहित अधिकार सम्पन्न ९ वटा प्रदेशहरु किरात, नेवा, ताम्सालिङ, तमु, मगर, मधेस, थारू, सेती महाकाली र भेरी-कर्णालीको नाममा स्वायत्त प्रदेशहरु कार्यरत थिए । यसरी महिलाहरूमा वर्गीय लैङ्गिक मात्र नभएर जातीय, क्षेत्रीय, दलित, अल्पसङ्ख्यकको चेतना पनि सत्ताको अभ्यासले परिचय गराइदियो । सत्ता अभ्यासको दौरानमा महिलाहरु विभिन्न जिल्लाका प्रमुखसम्म हुन सफल भए तर पहिचानको आधारमा बनेका प्रदेश प्रमुख बन्न पाएनन् । विशेष केना पटीने तिमीहरूलाई अधिकारको स्पमा महिलाहरुले सत्ता अभ्यासमा ४० प्रतिशत उपस्थिति हुन पाए ।

युद्धकालमा महिलाको बौद्धिक, लेखन, कला क्षेत्रमा तीव्र विकास भएको थियो । केन्द्रीय तहमा मात्र नभएर प्रादेशिक र जिल्ला जिल्लामा समेत महिला मुक्तिसम्बन्धी मासिक पत्रिकाहरु प्रकाशन हुन थाले । त्यति बेला सांस्कृतिक दस्ता सैन्यदस्ता सँगसँगै हिँड्थे । कतिपय ठाउँमा लोग्ने सांस्कृतिक मोर्चामा काम गर्थे भने स्वास्नि सैन्यदस्तामा काम गरेको पाइयो । यस परिप्रेक्ष्यमा चुन्नु गुरुङलाई सम्झनुपर्छ । उनि गित गाउने, नाच्ने मात्र नभएर रचनाकार, लेखक कथाकार र प्रखर वक्ता पनि थिईन् । लड्दालड्दै यो जीवन गए गइएजाला भन्ने गीत गाउँदै शहिद भइन् ।

सुरूमा जब जनयुद्धले क्रान्तिकारी राजनीतिक धार र सही जनदिशा अपनाएको थियो, त्यति बेला जनतामा यसले राम्रो छाप छोडेको थियो । तर पछिल्लो चरणमा जब पार्टीको नेतृत्वले पुरानो सत्तासित बार्गेनिङ गर्न थाल्यो, तब यसले आफ्नो राजनीतिक धार र जनदिशा गुमाउँदै गयो । साथै नेता र क्याडरबीच ठूलो खाडल आउन थाल्यो । उदाहरणको लागि चितवनको बाँदरमुढे घटना, जसमा निर्दोष जनता मरे । त्यस्तै दैलेखमा त जनताले माओवादीलाई नै लखेटेको घटना सुन्नमा आयो । यसले गर्दा रुपमा क्रान्तिकारी देखिने तर सारमा आफूप्रति शक्ति केन्द्रित, उपभोक्ता केन्द्रित प्रवृत्ति हाबी हुन थाल्यो । साथै नेतृत्व केन्द्रीकरणको नाममा शक्ति, सत्ता र स्रोत सीमित व्यक्तिहरुमा केन्द्रित हुन थाल्यो । तर पनि समग्रमा जनयुद्धले महिलालाई सापेक्षितरूपमा अधिकार सम्पन्न सर्वाङ्गिण र बलियो बनाउनमा ठूलो भूमिका खेलेको देखियो ।

शान्तिकाल

शान्तिकालमा आउँदा क्रान्तिकारी महिलाहरूको भूमिका कम हुँदै गएको प्रत्यक्ष देखिन्छ । सुरूमै शान्ति वार्तामा माओवादी महिलालाई भूमिका दिइएन । करबलले बल्ल एकजना महिला नेतृ पठाइयो तर उनीलाई उचित स्थान र महत्व दिइएन । यो भन्दा अझ महिला योद्धाहरुको ह्रास सेना समायोजन गर्दा देखियो । क्यान्टोनमेन्टभित्र महिलाको व्यवसायीकरणमा पार्टीले ध्यान दिएन । फलस्वरूप तिनीहरु सक्षम लडाकू बन्नुभन्दा बच्चा जन्माउनेतिर प्रेरित भए । आमा भइसकेपछि क्यान्टोनमेन्टभित्र बस्न नपाउने भएपछि उनीहरु झन् सैन्य जीवनबाट बाहिरिँदै गए । सेना समायोजनसम्म पुग्दा तिनीहरुको उपस्थिति अत्यन्तै न्यून हुन पुग्यो ।

जब-जब पार्टी सत्ता केन्द्रित हुन थाल्यो, तब-तब पुरुषको वर्चश्व पार्टीमा क्रमशः हाबी हुन थाल्यो । हिजो युद्धको बेलामा पूरै परिवार युद्धमा होमिदा हाई- • हाई गरिन्थ्यो भने आज क्षमतासहित तिनै परिवारहरु सरकारमा जाँदा लाभको पद खान गयो भनेर हुटिट्याउँ गर्न लागे । अनि परिवार भनेपछि त्यहाँ श्रीमती पर्ने, बहिनी पर्ने हुन थाल्यो । मानौ श्रीमान्, दाजुको लागि ती महिलाहरुले पद -छोडिदिनुपर्ने जस्तो भान हुन थाल्यो । सरकार र लाभ पदमा जाने होडबाजी गर्ने दौरानमा सत्य निरूपण तथा मेलमिलाप आयोगलाई कार्यान्वयनमा लैजानमा कसैको ध्यान नपुगेको देखियो । पार्टीका नेता-कार्यकर्ताहरु शहर केन्द्रित/काठमाडौ केन्द्रित हुन थाले । समावेशी, सहभागितामूलक र वर्गीय मुद्दाहरु ओझेलमा पर्न थाले । स्वभावतः महिला मुद्दाहरु ओझेलमा पर्ने क्रम बढ्न थाल्यो । पार्टीभित्र दलित र गैरदलितबचीको वैवाहिक सम्बन्ध टुट्न थाल्यो । साथै बहुविवाहका घटनाहरु पनि बढ्न थाले ।

अब आएर त सहभागितामूलक र समावेशी मुद्दालाई उपेक्षित गर्दै आएको पार्टी एमालेसँग यो पार्टी विलीन हुन पुग्दा यी मुद्दाहरु झन् कमजोर हुँदै जानेछ । यसरी जनयुद्धपछि शान्तिकालमा आएर माओवादी पार्टी जति-जति सत्तामोहमा फस्दै गएको देखिन्छ त्यति त्यति महिला आन्दोलनको राप-ताप पनि सेलाउँदै गएको देखिन्छ । आज आएर माओवादी महिलाहरुको विरलै समसामयिक लेख-रचना आउँछ, न त कुनै महिला हिंसाको विरुद्धमा सचेतना आन्दोलन गरेको देखिन्छ ।

निष्कर्ष

प्रायः विश्वमा के देखिन्छ भने, क्रान्ति हुँदासम्म ठूला-ठूला क्रान्तिकारी परिवर्तनहरु साथमा ल्याएको देखिन्छ । तर शान्तिकालमा आएपछि क्रमशः क्रान्तिका राप-ताप सेलाएर गएको देखिन्छ । अझ नेपालको सन्दर्भमा पूर्ण क्रान्ति हुन नपाउँदै शान्ति प्रक्रियामा आएपछि सेलाउने प्रक्रिया तीव्र हुन गएको देखिन्छ । यसको प्रत्यक्ष असर जनयुद्धमा होमिएका पुरुषहरुमा भन्दा बढी महिलाहरुमा देखा पन्यो । कारण महिलाहरु सार्वजनिक कामबाट घरेलु काममा आउन बाध्य भए । जबकि पुरुषहरु हिजो पनि, जनयुद्धको दौरानमा पनि र जनयुद्धपछि पनि सार्वजनिक क्षेत्रमा काम गरिराख्ने वातावरण रहिरह्यो ।

त्यस्तै सामाजिक क्षेत्रमा कतिपय महिलाहरुको विवाह टुटेको देखिन्छ, विशेष गरी अन्तर्जातीय विवाह गरेका बीच त्यसमा पनि दलित र गैरदलितबीचका विवाहहरु । कतिपय पुरुषले आफ्नी श्रीमती हुँदाहुँदै अर्कासँग सम्बन्ध राखेको देखियो । हाल कृष्णबहादुर महराको विषय पनि यस्तै भएको पुष्टि हुँदै गएको देखिन्छ । दुःखको कुरा, कुनै पनि महिला सङ्गठनहरुले उहाँमाथि बलात्कारको आरोप लगाउने महिलाको विषयमा निष्पक्ष छानबिन गर भन्ने समेत बहादुरता देखाएनन् ।

जनयुद्धलाई फर्किएर हेर्दा के देखिन्छ भने, जसरी सेनामा महिलाहरुको अनिवार्य उपस्थिति गराइयो, साथै जनसत्तामा पनि अनिवार्य उपस्थिति जनाइयो, त्यसरी नै पार्टीका सबै संरचनामा महिलाहरूको अनिवार्य उपस्थिति जनाएको भए आज कम्युनिस्ट पार्टीको टाउकोमा पुरूषसँगसँगै महिला पनि देख्न पाइन्थ्यो । तर पनि जनयुद्धकै कारणले नेपाली महिलाहरुले संविधानमा धेरै लैङ्गिक-मैत्री अधिकारहरु पाएका छन् । जस्तै- सदनमा ३३ प्रतिशत महिलाहरुको सहभागिताको सुनिश्चितता पाएका छन् । स्थानीय तहमा ४० प्रतिशत महिलाको सहभागिताको सुनिश्चितता पाएका छन् । कार्यकारी पदमा स्थानीय तहमा प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष, त्यस्तै देशकै राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्ने अधिकार पाएका छन् । सरकारको विभिन्न अङ्गमा समावेशी सहभागिता सुनिश्चितता पाइएको छ । पैतृक सम्पत्तिमाथिको समान अधिकारसमेत पाइएको छ । तर, महिला आन्दोलन सेलाउँदै गयो भने पाएको अधिकार पनि बिस्तारै हनन भएर जाने खतरा त्यत्तिकै छ । तसर्थ, अब सबै पार्टीभित्रका महिलाहरु सचेत, जाँगरिला र सङ्घर्षमय भैराख्नुपर्छ ।

                             (हिसिला यमी समाजवादी पार्टीकी केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।) (हिसिला यमी                                                  (हिसिला यमी समाजवादी पार्टीकी केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *