हिसिला यमि
हिसिला यमी नेपाल समाजवादी पार्टीका उपाध्यक्ष हुनुहुन्छ ।
“ परम्परागत कम्युनिष्ट नेताको भाषणभन्दा उहाँको भाषणमा माक्र्सवादको फराकिलो व्याख्या रोचक, कलात्मक रसमय–सान्दर्भिक हुन्थ्यो । यहाँसम्म कि महाभारत, रामायणका श्लोक, कथाहरू पनि बीच–बीचमा राखी व्याख्या गर्न भ्याउनुहुन्थ्यो ”
आज प्रदीप गिरिजी हामीमाझ हुनुहुन्न । यतिखेर उहाँको खाँचो महसुस भइरहेको छ । अहिले नेपालका परम्परागत पार्टीहरू चाहे त्यो काङ्ग्रेस पार्टी होस् वा कम्युनिष्ट पार्टीहरू होऊन्; जनताको अगाडि विस्थापित हुँदै गइरहेका छन् । त्यसैले, हिजोआज नेपाली जनताहरू वैकल्पिक पार्टीको खोजीमा छन् । अहिले नेपालका पुराना नेताहरू विचारमा बासी, विधिमा विचौलिया, उमेरमा बूढो भइसकेका छन् । नयाँ नेतृत्व, नयाँ विधि र नयाँ युवापुस्ताको खोजी भइरहेको छ । अहिले जनआन्दोलन र जनयुद्धको बलले स्थापित समावेशी लोकतन्त्र, समावेशी विकास, पहिचान र अधिकारको आधारमा सङ्घीयता धरापमा पर्दै गइरहेको छ । प्रदेश १ मा त्यहाँका जनता पहिचानसहित अधिकारको आधारमा नामाङ्कनको लागि सडकमा उत्रिरहेका छन् । प्रदेशको नाम भूगोलका आधारमा ‘कोशी’ नामाङ्कन मानिरहेका छैनन् । यतिखेर प्रदीप गिरिको खोजी भइरहेको छ, जसले वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक, दलित र अल्पसङ्ख्यकका हक–अधिकारका लागि सधैँ साथ दिइरहनुहुन्थ्यो । जसले परम्परागत पार्टी र विचारहीन नेताको आलोचना गर्दै आइरहनुहुन्थ्यो ।
सन् १९८० तिर म भारतमा पढिरहेको बेला प्रदीप गिरिलाई आकलझुकल देखिन्थ्यो । प्रत्यक्ष साक्षात्कार तब हुन थाल्यो जब हामीले निकाल्ने पत्रिका ‘झिल्को’को लागि लेख माग्न जान्थेँ । सो पत्रिकाद्वारा आयोजित अन्तत्र्रिmयामा उहाँ बोल्न आउनुहुन्थ्यो । त्यतिबेलासम्म म र बाबुराम भट्टराई कम्युनिष्ट पार्टीका सदस्य भइसकेका थियौँ । अतः उहाँ नेपाली काङ्ग्रेसको नेता भएर पनि उहाँको मुखबाट माक्र्स, लेनिन र रोजा लक्जेम्वर्गका कुरा सुन्दा म जिज्ञासु र अचम्मित हुनुका साथै वाल्ल पर्दथेँ । परम्परागत कम्युनिष्ट नेताको भाषणभन्दा उहाँको भाषणमा माक्र्सवादको फराकिलो व्याख्या रोचक, कलात्मक र समय–सान्दर्भिक हुन्थ्यो । यहाँसम्म कि महाभारत, रामायणका श्लोक, कथाहरू पनि बीच–बीचमा राखी व्याख्या गर्न भ्याउनुहुन्थ्यो । उहाँको ज्ञानको भण्डार साहित्य, संस्कृति, राजनीति, अर्थशास्त्र, धर्म, उत्पीडित जाति, क्षेत्र, लिङ्ग, दलितका सँगसँगै राष्ट्रिय–अन्तर्राष्ट्रिय ज्ञानले समेत भरिपूर्ण हुन्थ्यो । उखान–टुक्का, श्लोक र कथासमेत घुसाएर दर्शकलाई मोहित पार्न सक्नुहुन्थ्यो ।
मैले जति नजिकबाट उहाँलाई चिन्दै गएँ, त्यति नै उहाँलाई बाबुराम भट्टराईजस्तो देख्न थालँे । दुवै जना किताबका कीरा, आदर्शवादी, विचारमा पोख्त, जिज्ञासु र सरल ! दुवै जनाले भारतमा पढेको साथै जेएनयूमा पढेका, दुवै पटक–पटक जेल गएका । दुवै पार्टीभित्र लोकतन्त्रको वकालत गर्ने । दुवै आर्य खस समुदायका भए तापनि सङ्घीयताका पक्षधर, उत्पीडित जाति, क्षेत्र, लिङ्ग, दलितको वकालत गर्दै आएका । दुवै, पुरुष भए तापनि महिलालाई हेर्ने दृष्टिकोण फराकिलो मात्र नभएर सशक्तीकरणका निम्ति मरिमेट्ने । दुवै जना शासनप्रणालीमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति÷प्रधानमन्त्री र समानुपातिक सदनको पक्षधर । दुवैलाई रोजा लक्जेम्वर्ग मनपर्ने तर स्टालिन मननपर्ने । दुवैै जना सदनमा बोलेर कुनै न कुनै छाप छोडिरहने । दुवैको मुखबाट संस्कृत, अङ्ग्रेजी, हिन्दी भाषाको धाराप्रवाह रूपमा ज्ञानको धारा बगिरहने । दुवै जना विचारका धनी भएर पनि घर–व्यवहारमा भने कमजोर ।
प्रदीपजीको घरमा भेट्न जाँदा कहिलेकाहीँ भारती सिलवालसँग भेट हुन्थ्यो । त्यो घरमा कुनै बच्चा, वृद्धवृद्धा वा परिवार देखिदैँनथ्यो । एक–दुई जना कार्यकर्ता भेटिन्थे । भारतीलाई देख्दा शुरू–शुरूमा लाग्थ्यो उनी पनि कार्यकर्ता हुन् कि ! पछि उनको हाउभाउ देखेपछि प्रदीपजीको गर्लफ्रेन्ड हो कि सँगै बस्ने (लिभिङ टुगेदर) जोडी हो अथवा लोग्ने–स्वास्नी ? भन्ने लागिरहने । अङ्ग्रेजी फरर्र बोल्ने, जीउ सर्लक्क परेकी, चिटिक्क देखिएकी र आफ्नो कुरा निर्धक्कसँग राख्ने भएकाले उनी शहरिया बेहोराकी देखिने । यसरी, उनको बेग्लै छाप ममा परेको थियो । तर, मैले उनीहरूबीचको सम्बन्धबारे कहिल्यै पनि सोधिनँ । उनीहरूको सम्बन्ध देखेर मलाई पनि सहज लाग्यो । किनकि, बाबुराम र मेरो सम्बन्ध अद्यापि पारिवारिक भए पनि बढी साथीजस्तो छ । म पनि शहरिया, पढेकी, अङ्गे्रजी बोल्न जानेकी । उनी र म दुवै महिलावादी ।
प्रदीपजीको देहान्तपछि मेरो भारतीसँग अझ नजिकको सम्बन्ध हुन पुग्यो । उनले त प्रदीपसँग विवाह नै गरेकी रहिछन् । त्यो पनि हाम्रो जस्तै कोर्ट म्यारेजको माध्यमबाट । उनको पनि एउटै सन्तान, मेरो पनि एउटै । फरक यति मात्र कि उनको एउटा छोरा (पहिलो श्रीमान्बाट) र मेरो एउटी छोरी बाबुरामबाट । उनलाई राजनीतिमा ल्याउने प्रदीप गिरि हुनुहुँदो रहेछ । फलस्वरूप उनले चार–पाँच वर्षसम्म नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला संघमा केन्द्रीय सदस्य भएर काम गरिसकेकी रहिछन् । तर, पछि आफ्नो पेशामा फर्केकी रहिछन् । मलाई पनि राजनीतिमा ल्याउने बाबुराम भट्टराई नै हुनुहुन्थ्यो । हालसम्म राजनीतिमा नै लागिरहेको छु ।
कुरा गर्दै जाँदा उनलाई पनि आरोप लागेको छ, प्रदीपलाई बिगार्ने मान्छे भारती सिलवाल हो । मलाई पनि त्यही आरोप लगाउँदै भन्थे– बाबुरामलाई बिगार्ने हिसिला यमि हो । उनलाई पनि पार्टीभित्र धनी–सम्भ्रान्त महिला भनेर लाञ्छना लगाउँथे र मलाई पनि मेरो पार्टीभित्र बुर्जुवा भन्दै आएका छन् । प्रदीपजीको देहान्तपछि कतिपयले भन्ने गरेको सुन्थेँ– भारती सिलवालले प्रदीपको स्वास्थ्यमा ख्याल राखिनन्, सँगै बसिनन् । भारतीले चित्त दुखाएर मलाई भन्ने गर्थिन्, प्रदीपजीको रेखदेख त उनले गर्दै नै आएको हो । अझ पञ्चायतकालमा उनले रेडियो नेपालमा र अन्य दुई थरी कामहरूमा भ्याइनभ्याई संलग्न भएर प्रदीपजीलाई पाल्नुका साथै छोराको लालनपालन पनि गरेकी हुन् । प्रजातन्त्रको पुनस्र्थापनापश्चात् लामो समयसम्म यूएनको नेपाल र विदेशस्थित कार्यालयहरूमा काम गर्दा पनि उनले प्रदीपजीको खानपान, आवास र यातायातजस्ता खर्चहरू निरन्तर रूपले व्यहोरिदिएकै हुन् । हो, प्रदीपजीको उनीसँग ठाकठुक पर्दा उहाँ आफैँ घर छोडेर जानुहुन्थ्यो । त्यतिबेला भारतीले कुनै प्रतिक्रिया दिँदैनथिन् । जब प्रदीपजी आफैँ फर्केर आउनुहुन्थ्यो, त्यतिबेला उहाँलाई भारतीले सहजै स्वीकार्ने गर्थिन् । अर्थात् उहाँहरूबीचको सम्बन्ध परम्परागत परिवारभित्रको जस्तो थिएन, जहाँ महिनौँ लोग्ने–स्वास्नी नबोलीकन आफ्नो द्वन्द्व र रीसलाई पोको पारेर बस्थे, केही नभए जस्तो गरेर । वास्तवमा मैले पनि पञ्चायतकालमा बाबुराम भट्टराईलाई पालेकै हो । आफ्नो घर आफैँले बनाएकै हो । १३ वर्षसम्म पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा पढाएकै हो । जनयुद्ध शुरू भएपछि पढाउन छोडेको थिएँ । त्यसपछि म निरन्तर राजनीतिमा लागेँ ।
मलाई प्रदीपजीको सबैभन्दा मनपर्ने गुण उहाँको पारदर्शी जीवनशैली हो । मलाई विश्वास छ, कुनै महिला, अझ पढेलेखेका, बुद्धिजीवी, व्यवसायी र राजनैतिक महिलालाई उहाँले कहिल्यै उपेक्षा गर्नुभएन । उहाँ सहज, सरल र आत्मीय भावना भएको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको वैचारिक उचाइमा कुनै घमण्डीपना, पाखण्डीपना थिएन । मेरो आफ्नै पार्टीका र एमालेका केही नेताहरूले जनआन्दोलन र जनयुद्धका उपलब्धिहरू, मूलतः राज्य पुनर्संरचनाका विषयहरू, जस्तै– पहिचान र अधिकारको आधारमा सङ्घीयता ल्याउने कामलाई ओझेलमा पार्न खोज्दा उहाँले नेपाली काङ्ग्रेस भएर पनि त्यसमा दृढतापूर्वक वकालत गर्नुका साथै साथ पनि दिनुहुन्थ्यो ।
तर फेरि पनि प्रदीप–भारती र हामीमा भिन्नता थियो । यद्यपि, उहाँहरू र हामीहरू पार्टीभित्र समाजवादका बारे बहस गर्न पराउँथ्यौँ । तर, समाजवाद–प्राप्तिको बाटोमा उहाँहरू क्रमिक सुधारको बाटो मनपराउनुहुन्थ्यो । हामी समाजवाद पुरानो सत्तालाई बलपूर्वक ध्वंस गरेर आउने कुरामा र सर्वहारावर्गको अधिनायकत्वमा विश्वास गर्दथ्यौँ । प्रदीपजीले जति माक्र्स, लेनिन, रोजाको वकालत गरे तापनि उहाँले नेपाली काङ्ग्रेस पार्टी छोड्नुभएन । उहाँले आफ्नो पार्टीको बेथिति, नेताको वैचारिक ह्रासको बारेमा जति बोले तापनि उहाँलाई उहाँको पार्टीले कहिल्यै कारवाही गरेन । तर, जनयुद्धताकालमा हामीले वैचारिक मत भिन्नता राखेबापत हामीलाई पार्टीले ६ महिना कारवाही ग¥यो । पुरानो व्यवस्था ढाल्नको लागि जनयुद्धको बेला केन्द्रीकृत, एकीकृत, मिलिटेन्ट माओवादीधार हामीले बोकेका थियौँ । तर, शान्ति प्रक्रियामा आइसकेपछि पूँजीवाद हुँदै समाजवादमा जाने नयाँ संरचना निर्माण गर्नका लागि नयाँ वैकल्पिक पार्टी बनाउनपट्टि हामी लाग्यौँ । यसरी हामीले माओवादी पार्टी त्याग्यौँ । त्यस्तै नयाँ संविधान बनाउँदा प्रदीपजीले यो पूर्ण छैन भनेर त्यसमा हस्ताक्षर गर्न मान्नुभएन यद्यपि उहाँको पार्टीका सबैले हस्ताक्षर गरेका थिए । तर, उहाँले पार्टी र सदन भने छोड्नुभएन । जबकि बाबुराम भट्टराईले यो संविधान आधा गिलास खाली, आधा भरिएको भन्दै संविधानमा हस्ताक्षर गर्नुभयो । तर, माओवादी पार्टी त्याग्नुभयो र साथै सदन पनि त्याग्नुभयो । प्रदीपजी कहिले पनि कार्यकारिणी पदमा जान चाहनुभएन, जबकि बाबुराम प्रधानमन्त्रीसमेत हुनुभयो र म मन्त्री ।
स्वभावतः प्रदीपजी बढी विन्दास स्वभावको हुनुहुुन्थ्यो । उहाँ बढी साहित्यिक, रसिक, आत्मीय, बहिर्मुखी र बहुप्रतिभाशाली हुनुहुन्थ्यो । पटक–पटक घर छोडेर फेरि घर फर्कने आदर्शवादी नेता । जनता र कार्यकर्ताबीच रमाउने नेता । पद र पावरमा ध्यान नदिने नेता तर देश, समाज, पार्टीलाई सचेत र सद्बुद्धि दिइराख्ने नेता ।
म पुनः दोहो¥याउन चाहन्छु, अहिले देश वैचारिक, राजनीतिक, आर्थिक र सामाजिक रूपमै सङ्कटमा छ । यतिबेला यगत या दयह सोच्ने उहाँजस्तो नेताको खाँचो छ । गणितमा मात्र होइन, विचारले भरिपूर्ण नेताको खाँचो छ । हामी आफैँ पनि कठिन यात्रामा छौँ । पुरानो पार्टीबाट यो देश बन्न मुस्किल छ । हामी नयाँ वैकल्पिक पार्टी बनाउँदै छौँ । कहिले ओरालो कहिले उकालो हुँदै अगाडि बढ्दै छौँ । ठीक यही समयमा प्रिय प्रदीपजीलाई हामीले धेरै सम्झिरहेका छौँ । देशले त झन् सम्झिराखेको छ भन्दा अतिशयोक्ति नहोला ।
०००
मैले चिने–जाने बुझेकाः प्रदीप गिरि (स्मृतिग्रन्थ) २०८०