हो, म सुकुम्बासी -हिसिला यमि हो, म सुकुम्वासी ! होइन, म हुकुम्वासी !
लाउने वासी
सजाउने वासी
छाउने वासी
हो, म सुकुम्वासी ! होइन, म हुकुम्बासी !
सोध्छन् एक पर्यटकले
किन छोड्छन् शीतल हावा, निर्मल पानी ?
अनि त्यो सुन्दर गाउँको बस्ती !
भर्दैन पेट त्यो स्वच्छ हावाले
मेट्दैन तिर्खा त्यो निर्मल पानीले
छोपिन्न शरीर ती प्राकृतिक श्राभूषणले !
आएको छु यहाँ आहरा खोज्दै
खाली पेट बोक्दै
खाली हात सार्दै
बस्छौं नदी नालाको किनाराका
सछौं नदी झै कहिले यता कहिले उता
बस्छौं चिप्ले भिरमा
बग्छौं भिरसँगै तल, झन् तल अझै तल !
सुत्छौं जमीनको डसनामा
निदाउँछौं आकाशको सिरकमा
सपना देख्छौं बुल्डोजरको भूत
विपनामा भोग्छौं धम्कीको यमदूत !
चल्दैन यो शहर हामी विना
बन्दैन यो महल हामी विना
मिल्काइन्छ हामीलाई फोहरको ठाउँमा !
कस्तो यो शहरको शृङ्गार ?
कस्तो सभ्यताको व्यवहार ?
साभारः “आधा आकाश आधा धर्ति “
सम्पादक मण्डल सीता शर्मा दुर्गा न्यौपाने हिसिला यमि
प्रकाशकः प्रेरणा महिला परिवार २०४७