Posted on

हिसिला यमि


भूमिका
मानिस सचेत सामाजिक प्राणी हो । उसले बेलाबखत आफ्नो समाजको विश्लेषण र संश्लेषण गरेर अगाडि पाइला बढाउँछ । त्यस अर्थमा एक्काइसौं शताब्दी मानवजातिको लागि एउटा यस्तो ऐतिहासिक मौका बनेर आएको छ जहाँनिर उभिएर महिला-पुरूष सम्बन्ध जस्तो समाजको आधारभूत सम्बन्ध हिजो कस्तो थियो, आज कस्तो छ र भोलि यो कतातिर लम्कदै छ, त्यसको आँकलन गर्ने अवसर प्राप्त भएको छ । मानव समाजको विकासको विभिन्न चरणहरूमा महिला पुरूषको सम्बन्ध पनि परिवर्तित हुँदै गएको देखिन्छ। अझ गहिरिएर हेर्दा यी परिवर्तित महिला-पुरूषको सम्बन्धले समाजको परिवर्तित उत्पादन सम्बन्धलाई चित्रण गर्दछन् । यो सम्बन्धले मानव सृष्टिको पनि काम गर्ने भएकोले यसले भविष्यमा बन्ने समाजको खाका पनि दिन्छ । अझ महिला मुक्तिमा होमिएका व्यक्तिहरूको लागि विशेषतः मुक्तिकामी महिलाहरूको लागि यस विषयमा चासो राख्नु स्वाभाविक हो । किनकि यसबाट नै महिला-पुरूषबीचको अन्तरविरोध बुझ् न मद्दत पुग्छ। वास्तवमा महिला-पुरूष बीचको अन्तरविरोधले धेरै हदसम्म समाजको अन्तरविरोधलाई झल्काउँछ । तसर्थ यस विषयमा ध्यान दिनु भनेको मुलतः मानवजातिको विकासमा ध्यान दिनु बराबर हुन्छ ।


सैद्धान्तिक अवधारणा
मानिसहरूले महिला पुरूषको सम्बन्धबारे कुरा गर्दा प्रायः महिला पुरूषबीचको मात्रात्मक भेदभावको मात्र चित्रण गरेको देखिन्छ । त्यसलाई राजनैतिक अर्थशास्त्रको आँखाबाट कमैले नै बुझ्ने प्रयास गर्छन् । जबकि यसले नै महिला पुरूषबीचको सम्बन्धलाई समग्र रूपमा बुझ्न मद्दत दिन्छ । तर यो बुझ्नु अगाडि समाजको उत्पादन प्रणाली र त्यसभित्रको उत्पादन शक्ति र उत्पादन सम्बन्ध बीचको अन्तर सम्बन्ध बुझ्न जरूरी हुन्छ । किनकि राजनैतिक अर्थशास्त्र भनेको नै अन्ततः उत्पादन सम्बन्धको अध्ययन भएकोले उत्पादन शक्तिसित प्रत्यक्ष सम्बन्धित हुन्छ ।

सामान्यतः समाजलाई अगाडि बढाउने मुख्य कारक तत्व नै त्यहाँको उत्पादन शक्ति हो। उत्पादन शक्ति भन्नाले त्यसभित्र मानिस र मानिसले प्रयोग गर्ने यन्त्रहरू तथा प्राविधिकहरू पर्दछन्। मानिसले आफ्ना आवश्यकताका वस्तुहरू उत्पादन गर्ने क्रममा मानिस मानिस बीचको निश्चित सम्बन्ध कायम गर्न पुग्छ जसलाई उत्पादन सम्बन्ध भनिन्छ। सामान्यतः उत्पादक शक्तिको विकासको तुलनामा उत्पादन सम्बन्धको विकास मन्द हुन्छ। यसरी निश्चित उत्पादक शक्ति र निश्चित उत्पादन सम्बन्धको अन्तरक्रियात्मक जोडबाट नै समाजको निश्चित उत्पादन प्रणाली बन्दछ । तीव्र गतिमा चल्ने उत्पादक शक्ति र मन्द गतिमा चल्ने उत्पादन सम्बन्धको अन्तरविरोधले नै समाजको विकासको कुनै चरणमा आएर गतिरोध खडा गरिदिन्छ । त्यस्तो अवस्थामा पछि परेको उत्पादन सम्बन्ध नै उत्पादक शक्तिको बाधक भएर निस्कन्छ । यसले पुरानो उत्पादन सम्बन्धलाई भत्काएर नयाँ उत्पादन सम्बन्धको निर्माणको माग गर्दछ। यसैलाई क्रान्ति भनिन्छ। यो कुरा हालको महिला-पुरूषको सम्बन्धमा विशेष लागू भएको देखिन्छ । विश्वमा बढ्दै गएको उत्पादक शक्ति र यसले महिलाहरूको पनि उत्पादक शक्ति बढाउने माग भइरहेको अवस्थामा तिनीहरू पुरूषहरूको भन्दा पछि नै परेको देखिन्छ । अर्थात् महिलाहरूले आफ्नो उत्पादन क्षमतामा जति प्रगति गरे तापनि तिनीहरू पुरूषहरूको हाराहारीमा अगाडि बढ्न सकिरहेको देखिन्न। उनीहरूको पाइला पाइलामा पितृसत्तात्मक शोषणले बाधा र अड्चन खडा गरिराखेको देखिन्छ । तसर्थ आजको महिला-पुरूषबीचको उत्पादन सम्बन्ध जुन पुरूष प्रधान संरचनामा आधारित छ, त्यसले सम्पूर्ण मानवजातिको उत्पादक शक्तिलाई नै अवरोध खडा गरेको छ । हाल उठिरहेको महिला मुक्ति आन्दोलन, नारीवादी आन्दोलन यही अन्तरविरोधको अभिव्यक्ति हो । यसले महिला पुरूष सम्बन्धका आधारभूत प्रश्नहरू उठाइरहेको छ। तसर्थ यसलाई बुझ्नको लागि समाजको विभिन्न उत्पादन प्रणालीमा महिला-पुरूषबीचको अन्तरसम्बन्ध बुझ्न जरूरी हुन्छ ।


समाजको विकासमा महिला पुरुषको अन्तरसम्बन्ध
संसारमा मानव जातिको उत्पत्ति करिब दश लाख वर्ष अघि भए तापनि मानिसहरू व्यवस्थित रूपमा समाजमा बस्न थालेको करिब दश हजार वर्ष भयो । त्यसदेखि उत्पादन प्रणालीको विकासले त्यसभित्रको महिला-पुरूषको सम्बन्धलाई पूर्ण रूपमा परिभाषित गरेको पाइन्छ। जस्तो कि आदिम साम्यवादी युगमा मानिसको उत्पादन क्षमता न्यून अवस्थामा थियो। त्यहाँ अतिरिक्त धन उत्पादन हुने सवाल नै उठ्दैन थियो । त्यहाँ निजी सम्पत्तिको अवधारणा आउने कुरै थिएन । बरू उनीहरू प्रकृतिको अभियानमा बस्न विवश थिए र जीविकोपार्जन गर्नको लागि सामूहिक प्रणालीमा बस्न विवश थिए । तसर्थ त्यहाँ भएको सम्पत्ति सबैको अर्थात् सबैको उही सम्पत्ति भने भै प्रत्येक पुरूष सबै महिलाहरूको अर्थात् प्रत्येक महिला सबै पुरूषहरूको जस्तो हुन्थ्यो । तर पनि सन्तान जन्माउने महिला (समाजको अस्तित्वको लागि त्यो काम महत्वपूर्ण भएकोले यो कामको उच्च सामाजिक मर्यादा हुन्थ्यो) र साथै बालबच्चाहरू आमाबाट मात्र चिनिने हुनाले समूहलाई मातृगोत्रको आधारमा मात्र छुट्याउन सकिने कारणले आदिम समाजको उत्पादन प्रणालीले जन्म दियो ।


कालान्तरमा जब मानिसको उत्पादन शक्ति बढ्दै गयो, विशेषगरी पाँच हजार वर्ष पहिले जब फलाम पगाल्ने प्रविधिको आविष्कार भयो, तब कृषिबाट अतिरिक्त धन उत्पादन गर्ने क्षमताको विकासले निजी सम्पत्तिको अवधारणा ल्यायो। यसले समाजमा पहिलो चीटि वर्गविभाजन ल्यायो। शारीरिक श्रमगरी आफ्‌नो भौतिक शरीर समेत सुम्पिने दासवर्ग र मानसिक श्रमगरी दासबाट आर्जित श्रमबाट अतिरीक्त धन कमाउने दासको मालिक बन्ने मालिक वर्ग । मुलतः दासको श्रममा आधारित त्यो दासयुगमा दासहरू पूर्णतः सम्पत्तिविहीन थिए भने मालिक वर्ग सर्वसम्पत्तिवान थिए। यसरी निजी सम्पत्तिको विकासको साथसाथै यसलाई सरक्षण दिने पारिवारिक संरचनामा महिला र पुरुषको सम्बन्धमा पनि पुरुषहरू मालिक बन्न पुगे भने त्यसलाई सुरक्षा र व्यवस्थापन गर्ने अर्थात् घर सम्पत्ति र सन्तान हेर्ने सम्पत्तिहीन महिलाहरू दासी बन्न पुगे । यसरी निजी सम्पत्तिको विकास र त्यसले ल्याएको कार्य विभाजनले पहिलो चोटि समाजमा पितृसत्तात्मक प्रणालीको जग बसालिदियो । त्यसपछि जसरी प्रत्येक उत्पादन सम्बन्धको परिवर्तन संगसंगै शोषणका रूपहरू फेरिदै गए, त्यस्तै पितृसत्तात्मक संरचनाको आधारमा बनेको महिला पुरूष सम्बन्धका रूपहरू पनि फेरिदै गएको देखिन्छ।

दास युगको उत्पादन प्रणाली जब कालान्तरमा सामन्ती युगमा परिणत हुन पुग्यो तब त्यहाँ मालिक वर्गको ठाउँमा जग्गा जमिन ओगट्ने सामन्ती वर्गको उदय भयो र दासवर्गको ठाउँमा जमिनमा बाँधिएका अर्धदास किसान वर्गको उदय भयो । त्यही संरचना अनुसार महिला पुरूषको उत्पादन सम्बन्धमा पनि पुरूष सामन्ती र महिला अर्धदासीको रूपमा घरेलु व्यवसायमा अल्झेको पाइन्छ। त्यस्तै जब सामन्ती उत्पादन प्रणाली पुँजीवादी उत्पादन प्रणालीमा रूपान्तरण भयो तब त्यहाँ सामन्ती वर्गको ठाउँमा ठूलठूला उद्योग पुँजीको मालिक पुँजीपतिवर्गको उदय भयो भने अर्धदास किसान वर्गको ठाउँमा स्वतन्त्र ज्यालादारी मजदुर वर्गको उदय भयो । यहाँनेर महिला-पुरूषको सम्बन्धमा पनि पुरूष पुँजीपति वर्गमा परिणत हुन गयो भने महिला स्वतन्त्र ज्यालादारी मजदुरमा परिणत हुन गयो। यसरी पहिलो चोटि घर परिवारको दासी र अर्धदासीबाट महिलाहरू स्वतन्त्र ज्यालादारी मजदुरमा परिणत हुन गए । तसर्थ पुँजीवादको उदयले पहिलो चोटि महिला वर्गलाई घरायसी अनुत्पादक कामबाट मुक्ति दिलाएर सामाजिक उत्पादनशील श्रममा लाग्ने भौतिक वातावरण तयार पारिदियो । यहाँनेर के बुझ्नु पर्दछ भने शोषितवर्गमा पर्ने दास, अर्धदास र सर्वहारा वर्गका महिला-पुरूष सम्बन्धमा दुवैले श्रम गरी बाँच्नु पर्ने भएकोले गर्दा ती सम्बन्ध तुलनात्मक रूपमा समानतामा आधारित हुन्थ्यो ।
यदेखि उत्पादन रिभाषित गरेको न्यून अवस्थामा तजी सम्पत्तिको विवश थिए र – त्यहाँ भएको हरूको अर्थात् ला (समाजको) मर्यादा हुन्थ्यो।

पुँजीवादको विकासले अब उत्पादन शक्तिलाई बढी सामूहिकीकरण, सरलीकरण, गतिशील र विस्तारीकरण गर्दै लगे। पुँजीवादले घरायसी काममा पनि औद्योगिकरण गरेर घरायसी काममा लाग्ने श्रम र समय वचत गर्ने प्रविधिहरू आविष्कार गर्यो । तर उत्पादक शक्तिको सामूहिकीकरणले उत्पादन सम्बन्धमा पनि फराकिलो सम्पत्ति वितरण हुनु पर्ने ठाउँमा के देखिन्छ भने त्यो सामूहिक उत्पादन शक्ति आम जनताको सामूहिक हितको लागि प्रयोग नगरी सीमित पुँजीपति वर्गको हितमा मात्र प्रयोग हुन पुग्यो । यसले गर्दा घरायसी कामको औद्योगिकरणले धनी महिला वर्गलाई मात्र सुविधा दिन पुग्यो । त्यो सुविधा आम मजदुरवर्गका महिलाहरूको पहुँचमा पुगेन जसलाई यस सुविधाको बढी खाँचो थियो ।

पुँजीवादमा उत्पादन समाजको आवश्यकताको अनुसार सिर्जित महिलाहरूको मुक्तिको लागि भौतिक वातावरण त तयार पारिदिएको हुन्छ । तर पुँजीवादको शोषणयुक्त उत्पादन सम्बन्धले गर्दा ती श्रमिक महिलाहरूले त्यो सुविधाजनक वातावरणको पूर्ण सदुपयोग गर्न पाइरहेका हुँदैनन्। यसले गर्दा समाजको विकासमा अवरोध, गत्यारोध र विकृति पैदा गरेको छ। यसले पुरानो उत्पादन सम्बन्धलाई भत्काएर नयाँ उत्पादन सम्बन्धको माग गरेको छ, जुन शोषणको आधारमा नभएर आम जनताको हितको आधारमा हुनु पर्दछ । त्यो परिवर्तनको माग भनेको साम्यवाद उन्मुख समाजवादी क्रान्ति हो ।


समाजवादभित्र महिला पुरुष सम्बन्ध
वास्तवमा समाजवादमा आएर बल्ल महिला पुरूषको सम्बन्धमा नयाँ आधारमा एकता कायम भएको देखिन्छ । यस अर्थमा विगत दोस्रो सहश्राब्दीको अन्तिम २०० वर्षको अवधि उत्साहपूर्ण रहेको देखिन्छ । किनभने यही अवधिभित्र पुँजीवादको गर्भबाट समाजवादको जन्म भयो। प्रथम विश्व युद्धले सर्वप्रथम रूसमा समाजवाद ल्यायो भने दोस्रो विश्व युद्धले चीन तथा अन्य औपनिवेशिक देशहरूमा समाजवाद उन्मुख नौलो जनवादी व्यवस्था ल्यायो। पुँजीवादको विकासले ओतप्रोत भएको महिला मुक्ति आन्दोलनले बल्ल एउटा निकास पायो । त्यो निकास भनेको समाजवादले ल्याएको क्रान्तिकारी आमूल परिवर्तनकारी उत्पादन सम्बन्ध हो, जो शोषणयुक्त निजी सम्पत्तिको आधारमा नभएर बहुजन हिताय सामाजिक सम्पत्तिको आधारमा हुन्छ । तसर्थ यो उत्पादन सम्बन्ध मानिसहरू बीच एक अर्काको विरोधमा नभएर एक आपसको मैत्रीपूर्ण सहयोगको आधारमा हुन्छ । यही कुरा समाजवाद अन्तर्गतको महिला-पुरूषको सम्बन्धमा पनि लागू भएको देखिन्छ। यसले एकातिर महिला पुरूषको विरोधात्मक र शोषणयुक्त सम्बन्धलाई तोडेर त्यसको ठाउँमा एक अर्काको पुरकको रूपमा मैत्रीपूर्ण सम्बन्ध सृजना गरेको देखिन्छ भने अर्कोतिर पुरूष र महिलाबीच विद्यमान पितृसत्तात्मक संरचनालाई तोडेर समानताका आधारहरू तयार पारिदिन्छ। राज्यसत्ताको सचेत प्रयासमा महिलाहरूलाई पुरूष सरह समान अधिकार दिन्छ। विवाह, सम्बन्ध विच्छेद, गर्भपतन आदिको मामलामा महिलाहरूको पहलकदमीलाई मान्यता दिन्छ। समाजवादको उच्च उत्पादन प्रणालीले गर्दा महिलाले गर्दै आएको घरायसी कामकाजलाई सामूहिकीकरण गरेर यसलाई एउटा व्यवसायको रूपमा परिचालन गरिदिन्छ जसले महिलाहरूको उत्पादन शक्ति वृद्धि भएको हुन्छ । तर यति हुँदाहुँदै पनि समाजवादको श्रम केन्द्रित उत्पादन प्रणालीमा महिलाहरू पुरूषहरूभन्दा अलि पछि नै पर्न गएको देखिन्छ। महिलाको प्रजनन सम्बन्धी कामले गर्दा उनीहरू पुरूष सरह आफ्नो उत्पादनको काममा एकाग्र भएर लाग्न सक्दैनन् । फेरि समाजवादमा निजी सम्पत्तिको अवधारणा पनि पूरै निर्मूल भइसकेको हुन्न । त्यसले गर्दा पनि कार्य विभाजनमा महिलाहरूले नै सीमित निजी सम्पत्तिको रक्षा र व्यवस्था मिलाउने जिम्मा लिन पुग्दछन् । यो कार्य विभाजनलाई साम्यवादी व्यवस्थामा गएर मात्र चिर्न सकिन्छ । किनभने साम्यवादको आधारशीला नै उत्पादक शक्तिको उच्चतम विकासमा आधारित हुन्छ, जहाँ श्रमको अवधारणा आवश्यकता वा बाध्यता नभएर स्वेच्छा वा सामाजिक दायित्वको आधारमा हुन जान्छ। अर्थात् त्यहाँ उत्पादन यति धेरै हुन्छ कि त्यो पर्याप्त रूपमा समाजमा सबैलाई उपलब्ध हुन्छ। यसले गर्दा मानिसहरूले अब कामको आधारमा दाम पाउनु पर्दैन, बरू त्यहाँ आवश्यकताको आधारमा


वस्तुहरू उपभोग गर्न पाइन्छ। यस्तो अवस्थामा महिला पुरूषमा विद्यमान जैविक भिन्नता एक अर्काको बाधक र प्रतिस्पर्धात्मक नभएर एक अर्काको पुरक र सृजनात्मक हुनजान्छ । सामूहिक उत्पादक प्रणालीमा आधारित साम्यवादमा अब बाँकी रहेको निजी सम्पत्ति पनि बोझपूर्ण र अर्थविहीन हुने भएकोले यसको अन्त्य संगसंगै यसलाई संरक्षण गर्ने महिला पुरूषको उत्पादन सम्बन्ध वा परिवार पनि अनावश्यक र बोझपूर्ण बन्न जान्छ । तसर्थ निजी सम्पत्तिको अन्त्य संगसंगै महिलाहरूमाथि थोपरिएका वर्गीय, लिंगीय शोषणको पनि पूर्ण रूपले अन्त्य हुनजान्छ । साथै विज्ञानको उच्च विकासले गर्दा महिलाहरूको प्रजनन कार्य धेरै हलुका भैसकेको हुन्छ र नियोजित पनि हुन्छ । साम्यवादको उच्च उत्पादन प्रणालीले गर्दा हरेक व्यक्तिले आफ्नो व्यक्तित्व सामूहिक प्रणालीभित्र बढाउने मौका पाउँछ । यसरी आदिम साम्यवाद अन्तर्गतको अराजक प्रजनन कार्य र न्युन उत्पादक शक्तिमा आधारित बाध्यात्मक कविला सामूहिक प्रणाली साम्यवाद आएपछि सचेत रूपमा उच्च उत्पादन प्रणाली अन्तर्गतको वैज्ञानिक सामूहिक प्रणालीमा रूपान्तरण हुन जान्छ ।


तर माथि भनेको समाजवाद एउटा संक्रमणकालिन अवस्था हो, जसको जन्म पुँजीवादको गर्भबाट भएकोले यसभित्र पुँजीवादी अवशेषहरू रहिरहन्छन्। यसलाई सचेत रूपमा समाजको उपरी संरचनामा क्रान्ति गरिएन भने अर्थात् उत्पादन सम्बन्धलाई उत्पादक शक्तिको विकास संगसंगै रूपान्तरित गर्दै लगिएन भने त्यहाँ प्रतिक्रान्ति हुनजान्छ। प्रतिक्रान्तिले साम्यवाद उन्मुख बाटोलाई मोडेर पुनः पुँजीवादतिर फर्काउने काम गर्न पुग्दछ। आखिर आज रूस जस्तो पहिलो समाजवादी देश पुँजीवादमा फर्किसकेको छ । चीन पनि त्यही बाटोमा गइरहेको छ । यसको ज्वलन्त असर हामी त्यहाँभित्रको महिला पुरूषको सम्बन्धमा आएको अन्तरविरोध र असमानतामा देख्छौ । त्यहाँ बढ्दै गएको पुँजीवादी अर्थतन्त्रले ल्याएको आम वेरोजगारीको बज्रपात सर्वप्रथम महिलाहरूको टाउकोमा पर्न गएको छ । खर्च कटौती गर्ने नाममा त्यहाँको सरकारले महिलाहरूलाई दिदै आएको सरकारी सुविधा, अवसरहरू र अधिकारहरू छिनिरहेको छ । बजारी अर्थतन्त्रको माग अनुसार महिलाहरूलाई उपभोगका वस्तुको रूपमा बढावा दिइँदैछ । यौनलाई श्रमको साधनको रूपमा बढावा दिइँदैछ। फलस्वरूप समाजवादी क्रान्तिले पूर्ण निर्मुल पारिसकेको सौन्दर्य प्रतियोगिता, वेश्यावृत्ति आज सडक सडकमा व्याप्त भइरहेको छ । महिलाहरू हिंसाको शिकार हुँदैछन्। यसले पनि सावित गर्छ कि महिलावर्गको पूर्ण मुक्ति दिने भौतिक वातावरण र त्यसलाई क्रान्तिकारी ढंगले कार्यान्वयन गर्ने उत्पादन सम्बन्ध साम्यवादी उन्मुख समाजवादी समाजमा मात्र सम्भव छ । यो कुरा अहिले एक्काइसौं शताब्दीमा झन पुष्टि हुँदैछ, किनकि अहिलेको पुँजीवादी अर्थात् त्यसको विकसित साम्राज्यवादी अर्थतन्त्रले त समाजमा झन संकट पैदा गरिराखेको छ । आजको महिला पुरूषको सम्बन्ध झन् झन् अन्तरविरोध र तनावपूर्ण बन्दै गएको छ । यो स्वाभाविक हो, किनकि साम्राज्यवादी युग भनेको नै सबभन्दा तीव्र अन्तरविरोधको युग हो । साम्राज्यवादी संरचनाले एकातिर उत्पादक शक्तिलाई अझ बढी सरलीकरण र केन्द्रिकरण गरेर सामूहिकीकरण गर्दैछ भने अर्कोतिर यसको सम्पूर्ण फाइदा सीमित एकाधिकार पुँजीपतिहरूले उठाइरहेका छन् । यस्तो एकाधिकारवादी केन्द्रिकृत उत्पादन सम्बन्धले पुँजीवादी संरचनाको सुरूको प्रगतिशील पक्षलाई पुरै निषेध गर्दैछ। अर्थात यसले समाजलाई अगाडि बढाउने उत्पादक शक्तिलाई नै नष्ट गरिराखेको छ। यसले गर्दा पुँजीवादी सामाजिक संरचनामा आधारित महिला सम्बन्ध अर्थात परिवारको संरचनालाइ नै नष्ट गर्दैछ। त्यहाँभित्रको आर्थिक अराजकताले गर्दा महिला पुरूष सम्बन्धमा पनि अराजकता र विकृति ल्याउँदैछ । केही सीमित धनी पुरूषको लागि अत्यधिक महिलाहरू यौनको साधन बनेका छन् भने सीपयुक्त उत्पादन शक्ति भएका धनी महिलाहरू समेत बेरोजगार भएर साम्राज्यवादी भ्रष्ट संस्कृतिमा लिप्त भएका छन् । उता साम्राज्यवादी अर्थतन्त्रले आम जनताको रोजगारी खोसिदिएको छ । यसले गर्दा गरीब महिलाले आफ्नो परिवार धान्नको लागि अझ लामो समय स-सानो काममा लाग्न बाध्य भएका छन्। त्यसले पनि नपुगेर तिनीहरूले आफ्नो शरीरलाई समेत बेचेर परिवार पाल्न परिराखेको छ। यसले परिवारको सामाजिक संरचना नै भ्रष्टीकरण गरेर तनावपूर्ण वातावरण सृजित गर्दैछ। तसर्थ समाजमा सम्बन्ध विच्छेदका घटनाहरू बढ्दैछन्। परिवारभित्र हिंसाका घटनाहरू बढ्दैछन्। यसले एकल अभिभावक परिवारको संख्या (Single Parent Family) बढाउँदै छ। अर्कोतिर महिला पुरूषको सम्बन्धलाई यौन सम्बन्धमा मात्र सीमित गराएर अनियन्त्रित यौनलाई प्रतिष्पर्धात्मक रूपमा बजारीकरण गरेर महिला पुरूष बीचमा दुरी पैदा गर्ने काम गरिराखेको छ । यसले गर्दा समलिंगी परिवारहरू बढ्दै गएका छन् । यी सबै अन्तरविरोधहरूले साम्राज्यवादी उत्पादन प्रणालीभित्रको तीव्र संकटलाई नै झल्काउँछन्। त्यसैले कुण्ठित, अनुत्पादक, परजीवी उत्पादन सम्बन्धले क्रान्तिकारी रूपान्तरणको माग गरिराखेको छ। यो रूपान्तरण भनेको सामूहिक उत्पादक शक्तिलाई सामूहिक हितको लागि प्रयोग गर्ने विधि हो । त्यो भनेको सामाजिक उत्पादन प्रणालीमा आधारित समाजवादी क्रान्ति नै हो।


तर यदि वस्तुगत स्थितिले माग गरे अनुसार सचेत प्रयासले समाजवादी क्रान्तिलाई अगाडी बढाइएन भने त्यही समाजभित्र पुनरूत्थानवादी प्रवृत्तिले टाउको उठाउन थाल्दछ। अर्थात् धर्म र परम्परागत संस्कृतिलाई संरक्षण गर्ने नाउँमा महिला-पुरूष सम्बन्धलाई पनि पिछडिएको सामन्ती सम्बन्धमा फर्काउन बेर लाग्दैन । आज अमेरिका जस्तो विकसित देशमा गर्भपतन विरोधी क्रिश्चियन आन्दोलन बढ्दैछ । त्यस्तै भारतमा राम सीताको सम्बन्धलाई आदर्श बनाउन खोज्ने राम जन्मभूमि आन्दोलन बढ्दैछ । त्यस्तै मेहनतकश जनता तथा प्रगतिशील वर्गहरूले वर्ग विभाजित समाजको संकटलाई शक्तिको रूपमा बदलेर मानव जातिलाई अझ उच्च वर्गविहीन समाजमा लग्न प्रयास गर्नुपर्दछ । जहाँ महिला पुरूष सम्बन्ध शोषणरहित, बहुआयामिक, सृजनशील र अझ गहिरो होस्।

निष्कर्ष
अहिलेसम्मको महिला पुरूष सम्बन्धको इतिहासलाई हेर्दा यो गतिशील हुन्छ भन्ने नै पुष्टि हुन्छ । समाजमा परिवर्तित हुँदै गएको उत्पादन प्रणालीले महिला पुरूष सम्बन्धमा पनि क्रमशः परिवर्तनहरू ल्याएको देखिन्छ। अहिलेसम्मको महिला पुरूष सम्बन्धको इतिहास हेर्दा के देखिन्छ भने महिलाको सबभन्दा सम्मानित उच्चस्थान आदिम साम्यवादमा थियो। यसको अभिव्यक्ति त्यहाँको मातृसत्तात्मक संरचनाले पुष्टि गर्दछ । तर मातृसत्तात्मक संरचनाको आधार भनेको महिलाहरूको प्रजनन शक्ति हो। त्यसपछिका निजी सम्पत्तिमा आधारित विभिन्न युगहरूमा त्यहाँका विद्यमान शोषणका रूपहरू फेरिए त्यहाँका पितृसत्तात्मक शोषणका रूपहरू पनि फेरिदै गएको देखिन्छ । किनकि पितृसत्तात्मक संरचनाको भौतिक आधार भनेको उत्पादनका साधनमाथि पुरुषवर्गको वर्चस्व रहनु नै हो। समाजवादमा आएर बल्ल महिला पुरूषको सम्बन्ध समानताको आधारमा विकास हुन थालेको देखिन्छ। तर समाजवादभित्र पुँजीवादी अर्थतन्त्र हावी हुन थालेपछि महिला पुरूष सम्बन्धमा पुनः असमानता र शोषणयुक्त उत्पादन सम्बन्धमा फर्केको देखिन्छ। साम्राज्यवादी युगले यो सम्बन्धलाई अझ भ्रष्टिकरण गरेको देखिन्छ । साथै साम्राज्यवादी अर्थतन्त्रले ल्याएको केन्द्रिकृत र सामूहिकृत उच्च उत्पादक शक्तिले क्रान्तिकारी उत्पादन सम्बन्धको माग गरिराखेको छ ताकि सामूहिकीकरण गरेको उच्च उत्पादक शक्ति आम जनताको हितमा प्रयोग गर्न सकियोस् । अर्थात् युगले पुनः समाजवादी क्रान्तिको माग गरेको छ, जसले गर्दा महिला पुरूषको सम्बन्ध पुनः समानताको आधारमा विकास हुन सकोस्। एक्काइसौं शताब्दी समाजवाद र महिला पुरूष समानताको शताब्दी बन्ने निश्चित छ।


(दिशाबोध मासिक, वर्ष ३, अंक २, २०५७ जेष्ठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *