जसरी हिजो भोट गर्न पाउने अधीकार पहिले धनी वर्गले मात्र पाउँथे, पछि गएर पुरुषहरु हुँदै अन्ततः महिलाले पाए, त्यस्तै शिक्षा क्षेत्रमा पनि धनी वर्ग हुँदै, पुरुषहरु हुँदै अन्ततः महिलाले पनि पढ्न पाए । आज गरिब वर्गले भोट हाल्न पाए पनि उठेर जित्न पाउँदैन, त्यस्तै महिलाले पढेर पनि त्यस्तो फल उपभोग गर्न पाउँदैनन् । यो वर्गीय र लिंगीय विभेदपूर्ण समाज भएकोले गर्दा यहाँको शिक्षा वर्गीय र लिंगीय सापेक्ष छ । अतः धनीवर्गको महिलाको लागि शिक्षा भाषण भएको छ भने मध्यवर्गको महिलालाई शिक्षा दाईजो सरह सम्पत्ति भएको छ र गरीब वर्गको महिलालाई त्यो शिक्षा आकाशको फल आँखा तरि मर जस्तो भएको छ ।
यहाँ शिक्षा भन्नासाथ त्यो कुन वर्गको लागि र त्यो के प्राप्तिकालागि भन्ने प्रश्न जसरी उठ्न सक्दछ जसरी निर्वाचन भन्नासाथ त्यो कुन वर्गको लागि र के प्राप्तिको लागि भन्ने गर्दछ । यो प्रश्न गरिब वर्गका महिला समुदायका लागि झन सान्दर्भिक हुन जान्छ, किनकि महिला गरिब वर्ग भित्र पनि अझ गरिब समुदायमा पर्दछ । आज वर्ग संघर्ष जनयुद्धको उपलब्धिबाट नेपालका ग्रामिण क्षेत्रमा नयाँ जनसत्ता बनेको छ त्यही सापेक्षमा नयाँ जनवादी शिक्षा प्राप्त भएको छ । अतः अहिले प्राप्त गरेको नयाँ सत्ता र शिक्षा कुन रुपमा पुरानो सामन्ती सत्ता र शिक्षा भन्दा फरक छ त्यो बुझ्न जरुरी छ ।
आज बनेको जनसत्ता आम जनता, जनसेना र कार्यकर्ताको असिम बलिदानिबाट प्राप्त भएको हो । र यो सर्वहारावर्गको प्रतिनिधित्व गर्ने ने.क. पा (माओवादी) को क्रान्तिकारी र वैज्ञानिक विचारले नेतृत्व गर्दा प्राप्त भएको हो । अतः यही जनतालाई वैज्ञानिक र क्रान्तिकारीरुपमा संचालन गर्नकोलागि दक्ष जनशक्ति चाहिएको छ । जनवादी शिक्षा यसैको उपज हो । जनसत्ता भै जनवादी शिक्षा पनि समाजवाद उन्मुख शिक्षा हुनुपर्ने भएकाले त्यसले उत्पादन गरेको जनशक्ति लाल मात्र भएर पुग्दैन, निपूण पनि हुनुपर्दछ, व्यवहारमा मात्र उत्रेर पुग्दैन, सिद्धान्तले पनि लैस हुनुपर्दछ, उत्पादन शक्ति बढाउने मात्र जनशक्ति नभएर, उत्पादन प्रणालीलाई क्रान्तिकारी तरिकाले बदल्नु सक्नु पनि पर्दछ, विद्रोही मात्र नभएर सृजनशील पनि बनाउन सक्नु पर्दछ, प्राविधिक ज्ञान दिएर मात्र पुग्दैन प्रतिक्रान्ति रोक्ने ज्ञान र विधि पनि दिन सक्नु पर्दछ । सारमा भन्दा आम जनतालाई जनसत्तामा झागिनको लागि समग्र ज्ञान दिन सक्नुपर्दछ ।
यही परिवेशमा आधा आकाश धर्ती बोक्ने महिलाहरुको जनवादी शिक्षाको क्षेत्रमा के कस्तो स्थिति छ त्यो बुझ्नु धेरै जरुरी छ । लेनिनले स्पष्टरुपले भन्नु भएको छ कि कुनै देश/समाजको स्थिति कहाँ छ त्यो बुझ्नको लागि त्यहाँका महिलाहरुको स्थिति बुझ्नु पर्दछ । कारण, समाजको विकासको क्रममा श्रम विभाजन सर्वप्रथम महिला माथी नै हुँदा दासि बन्न पुगेकोले गर्दा सबभन्दा पछि मुक्ति पाउने समुदाय पनि महिलाहरु हुने भएकाले गर्दा तिनीहरु प्रत्येक चरणको क्रान्तिलाई साम्यवाद नपुग्दासम्म घचघच्याउने समुदाय हो । अतः महिलाहरुको यही स्थितीले गर्दा तिनीहरु राजनैतिकरुपमा, वैचारिकरुपमा झन चनाखो, सजक रहनुपर्दछ । किनकी, प्रतिक्रान्तिले तनिहरुको पूर्ण मुक्तिको गतिलाई अझ पछि धकेलीदिन्छ । अबको नौलो जनवादी व्यवस्थामा त महिलाहरु पार्टि, सेना र सत्तामा सहभागीमात्र भएर नपुगेर नेतृत्वदायी भुमिका पनि निभाउन तयार हुन्छन् ।
जनयुद्ध आफै एउटा यस्तो सशक्त आन्दोलन भएको छ जसले गर्दा पार्टी, जनसेना र जनसत्तामा कार्यरत निरक्षरहरुलाई साक्षर बनाउन उत्प्रेरित गरेको छ, साक्षर भएकालाई अझ परिस्कृत गर्न प्रोत्साहन गरेको छ । यसले आम जनतामा साक्षरताको महत्ववोध गराईदिएको छ । अझ युगौदेखि पिल्सिँदै आएको महिलाहरुलाई साक्षर बनाउन झन उत्प्रेरित गरेको छ । भुगोलमा खेलिरहने जनसेनाको लागि त साक्षरता मात्र नभएर प्राविधिक ज्ञान झन अति आवश्यक भएको छ । जनसत्ता संचालनको लागि यो तहको शिक्षाले मात्र पुग्दैन । अबको जनशिक्षाले मानिसलाई पूर्ण बनाईदिन सक्नुपर्छः भौतिकवादी मात्र नभएर द्वन्दात्मकवादी पनि बनाईदिनुपर्छ । ज्ञान मात्र दिएर नपुगेर परिस्कृत ज्ञान पनि दिनुपर्छ, बाध्यताको दुनियामा रहन मात्र नसिकाएर स्वतन्त्रताको दुनियामा जाने बाटो पनि सिकाउनु पर्दछ र वर्ग संघर्षसित जुध्नमात्र नसिकाएर संगठन भित्र चल्ने राजनैतिक, वैचारिक संघर्षमा पनि जुध्न सिकाउनुपर्छ । महिलाहरुको लागि यो ज्ञान झन अपरिहार्य भैसकेको छ किनकी नयाँ जनसत्तामा तिनीहरुलाई विशेष अधिकार दिई नेतृत्वदायी भूमिका निभाउने स्थान सुरक्षित गरिएको छ । आधार ईलाकामा तिनीहरुलाई पैतृक सम्पत्तिमाथी समान अधिकार दिएर आफ्नो खुट्टामा उभिने मजबुत जग बसाल्ने काम भएको छ । तर पनि आधार ईलाकामा महिलाहरुको जनवादी शिक्षाप्रति जति सन्तोषजनक प्रगती हुनु पर्थ्यो त्यति देखिन्न । त्यसको पछाडी केही मुलतः त्यहाँको वस्तु गतस्थिति अनि सहायक रुपमा आत्मगत स्थिति जिम्मेवार छ ।
हाम्रो देश अर्ध सामन्ती, अर्ध औपनिवेशिक देश भएता पनि यहाँको ग्रामिण क्षेत्र मूलतः सामन्ती संरचनामा बनेको छ । अतः यहाँ महिलाहरुलाई प्रजनन शक्तिकोरुपमा लिन्छ र स्थापित गर्दछन् । उत्पादनमा भाग लिएता पनि पुरुषहरुलाई प्रधान उत्पादन शक्तिको रुपमा, महिलाहरुलाई सहायक उत्पादन शक्तिको रुपमा लिएको हुन्छन् । अतः पुरुषहरुलाई शिक्षा उनिहरुको उत्पादक शक्ति बढाउने ध्येयले दिन्छन् भने त्यही शिक्षा महिलाहरुलाई भने त्यो खेर जाने, पोईला जाने, राजनीतिमा लाग्ने भनेर पढाउने गर्दैन । यदि कथम् कदापि पढ्न पढाइहाले भनेपनि कलिलो उमेरमा विवाह गरेर उनको पढाईको निरन्तरता रोक लगाई दिन्छ । नयाँ जनसत्तामा पूरानो संस्कार रहीरहँदा यसको अन्त्य गर्न सर्वप्रथम पार्टी, संगठन, जनसत्ता र जनसेनाका परिवार नै नमुना बनी आ-आफ्ना छोरी, बुहारी, श्रीमतीलाई पढ्ने वातावरण दिनु पर्दछ । मुलतः महिलाहरुलाई निरन्तररुपले जनवादी शिक्षामा लाग्न प्रोत्साहन दिनुपर्छ । अबत विभिन्न किसिमको सहकारी संचालन हुन थालेकोले गर्दा पनि घरको काम कम बोझपूर्ण हुन गएकोले बढी समय जनवादी शिक्षामा दिन सक्छन् । यसरीमात्र जनताले पनि जनशिक्षाको महत्ववोध गर्न पाउँछन् ।
यहाँको सामन्ति संरचनाले गर्दा यहाँका महिलाहरु आत्मगत हिसाबले बढी दासि, पर निर्भर, भान्छा-केन्द्रीत, आमा बन्नमा सिमित र व्यवहारमा अल्झिरहको देखिन्छ । यसले गर्दा नयाँ जनसत्ताको परिवेशमा पनि त्यही पुरानो आनिबानि छोड्न नसक्दा तिनीहरु पुरुषभन्दा बडि रुढिबादी, संकिर्ण र अर्थवादी देखिन पुग्दछन् । तिनीहरु हिनताबोधले ग्रस्त हुन थाल्दछन् । महिलाहरुको यस्तो आत्मगत स्थितिलाई बदल्नको लागि सर्वप्रथम पार्टी, जनसेना र जनसत्तामा कार्यरत महिला नेतृत्वले स्वयं आफु उदाहरण भई पेश हुनुपर्दछ । ती मध्ये केहीले १० क्लास मुनि पढेकाछन् भने केहीले स्नातकसम्म पढेका छन् । केहीमा पढेकोमा दम्भ हुनसक्दछ भने धेरैमा कम पढेकोमा हिनताबोध हुनसक्दछ । तिनीहरुको आचरण, व्यवहार र बौद्धिक क्षमता अब आउने महिला पुस्ताको लागि अनुकरणीय हुनुपर्दछ । अन्ततः नेतृत्व भनेको वैचारिक नेतृत्व हुने भएकोले गर्दा तिनीहरुको आफ्नो वैचारिक क्षमता बढाउन अनिवार्य छ । साथै अध्ययन मात्र गरेर नपुगेर, ठोस स्थिति अनुसार ठोस विश्लेषण गर्न सक्ने हुनुपर्दछ । छलफलमा भाग लिएर वैचारिक, राजनैतिक संघर्षमा उत्रेर मात्र विकास गर्न सकिन्छ । अहिले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट मार्क्सवाद लेनिनबाद र मालेवादको रक्षा, प्रयोग र विकासको प्रश्न अहम् बनेर आएको छ । यसको लागि भावि नेतृत्व अझ लाल र निपूर्ण बनेर आउनु आवश्यक छ । अतः भावी नेतृत्व लिने आजका महिलाहरु जनवादी शिक्षाबाट अझ प्रशिक्षित र परिकृस्त हुन पर्ने आजको माग हो । यसरी मात्र सदियौ देखि दास बनाएका महिलाहरु आफ्नो भविष्यको आफै मालिक बनेर २१औँ शताब्दीको सचेत नारी बन्ने छन् ।
२०६१ मंसिर १५