https://ekantipur.com/koseli/2024/10/26/in-search-of-womens-movement-12-12.html?author=1
Highlights
- नेपाली महिला इतिहास र आन्दोलनको दस्ताबेजीकरण हो– महिला आन्दोलनको सहखोजी ।
नेपालको महिला आन्दोलनबारे लेखिएको व्यवस्थित खोजीसहितको सायद पहिलो किताब हो– ‘महिला आन्दोलनको सहखोजी’ । द स्टोरी किचेन र त्रि.वि., लैंगिक अध्ययन विभागको संयुक्त प्रकाशनबाट निस्केको (२०८१) यो किताबको बाहिरी कभर नै औंठीको छापबाट सुरु हुन्छ ।
किताबले यो छापलाई अज्ञानताको प्रतीक होइन, महिलाको अस्तित्वको प्रतीक भनेको छ ।
२०७९ सालमा ३ दिने आवासीय लेखन गोष्ठीमा विभिन्न क्षेत्रका महिला हस्तीबाट ‘मेन्टरसिप’ प्राप्त गरी लेखिएको २२ वटा लेखहरूको संकलन हो यो । अध्ययन, अन्तर्वार्ता, फिल्ड भिजिट र अनुसन्धानसहित निष्कर्ष दिएर लेखिएका छन् लेखहरू । बलात्कृत महिलादेखि बादी महिलासम्म, पुरुषदेखि परिवर्तनसम्म, सम्पत्तिदेखि समानतासम्म ! आदिवादी महिला, कमलरी प्रथा, अपाङ्गता भएका महिला, एकल महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक र मधेश महिलाका मुद्दा पनि समेटेको छ किताबले ।
यो किताब महिलावादी दृष्टिकोणका साथै महिला इतिहासको दस्ताबेजीकरणको अर्थपूर्ण अभ्यास हो । तसर्थ यो पहिलो प्रयासलाई ‘सन्धान सङ्ग्रह शृङ्खला–१’ भनिएको छ । डा. सुदीप सिंह नकर्मी, जो त्रिविको लैंगिक अध्ययन विभागका प्रमुख हुन्, उनका अनुसार पहिलो पटक त्यो विभागले आफ्नो अध्ययन घेराबाट निस्केर महिलाकर्मीसँग आमनेसामने भई काम गरेको हो । त्यस्तै लेखिका प्रा.डा.विन्दु पोखरेलको अग्रलेख ‘अनुसन्धान र ज्ञान निर्माणका स्रोतमा महिला’ ले भन्छ– अहिले पनि महिलालाई बौद्धिक शक्तिका रूपमा पत्याइँदैन । ज्ञान उत्पादन साधन, अनुसन्धान विधि नै महिलामैत्री नभएको भन्दै उनले महिलावादी अनुसन्धान विधिका बुँदाहरू उजागर गरेकी छन् ।
‘महिलावादी दृष्टिकोणबाट इतिहासको उत्खनन’ लेखमा डा. मीना पौडेलले आफ्नो विचार/विश्लेषणमा इतिहास आफैं लेखिन्नन्, तिनलाई लेख्नुपर्छ, लेखे पनि अर्काले होइन, आफैंले लेख्न सक्नुपर्छ भनेकी छन् । उनले ‘महिलाको इतिहास महिलाले नै लेख्नुपर्छ’ भनेको सोह्रै आना सही छ । ‘अनुसन्धानको वृत्तिमा रचिएका आलेख हेर्दा’ मा लेखक डा. महेशराज पन्तले यो किताबमा लेखिएका कतिपय आलेखहरूको अनुसन्धान नपुगेको भन्दै सम्पत्तिमा स्त्रीको अधिकार बुझ्नका लागि अझ जरोमै गएर धर्मशास्त्रीय ग्रन्थ र पुराना अभिलेख पल्टाउन सुझाव दिएका छन् ।
यीबाहेक २२ लेखकहरू ३०–४० वर्ष उमेर पुगेका र मिडियामा काम गरेका केही लैंगिक अध्ययन विभागका विद्यार्थी हुन्, जसले संकेन्द्रित ठाउँ पाए, समय पाए, सीप पाए । यी लेखमध्ये ‘सामूहिक वनमा महिला सहभागिता ः नेतृत्व र भूमिका’ मा लेखक सविता श्रेष्ठले विस्तृत जानकारीका साथै कसरी संरचनात्मक ढंगले सामूहिक वन समितिहरू महिलामैत्री भए र त्यसको असर राजनीतिक क्षेत्रमा पनि कसरी देखापर्यो भन्ने वर्णन गरेकी छन् ।
गगनशिला खड्काद्वारा लिखित ‘स्थानीय निर्वाचनमा सात दशक : महिला सहभागिताको इतिहास’ मा राणाकालदेखि हालसम्मको दसवर्षे जनयुद्ध हुँदै २०६२/६३ को बृृहत् जनआन्दोलनबाट महिलाहरूको स्थानीय चुनावमा प्रतिनिधित्व र नेतृत्व विकास हुँदै गएको विवरण मननयोग्य छ ।
मन्दिरा अधिकारीले ‘सम्बन्ध टुट्दा ओझेलमा सम्पत्तिमाथिको अधिकार’ मा मनुस्मृतिदेखि देवानी संहितासम्म विवाह, पारपाचुके र सम्पत्तिसम्बन्धी अधिकारका कुरा विस्तृत वर्णन गरेकी छन् । अहिले पनि व्यवहारमा महिलाले आफ्नो भागमा परेको सम्पत्तिको अधिकार पाएर पनि भोग गर्न गाह्रो भएको वर्णन गरिएको छ ।
कैलाश राईद्वारा लिखित ‘नेपालमा आदिवासी महिलाको आन्दोलन’ मा कतिपय इतिहासमा नपरेका, नलेखिएका आदिवासी महिलाहरूको संघर्ष, बलिदानी उजागर गरिएको छ । साथै आदिवासी महिलालाई स्वच्छन्द, नाचगान, भेषभूषाको आभूषणमा सीमित गराई सांस्कृतिक समूहका रूपमा हलुका किसिमले प्रस्तुत गर्ने गरिएको विवरण दिइएको छ । उनको प्रश्न छ– आदिवासीय मौलिक अवधारणाभित्र महिलाको अवधारणा छैन ?
चाँदनी आचार्यको लेख ‘बादी महिलाको पहिचान र अधिकार आन्दोलन’ मा बादीको अर्थ र पहिचान उजागर गरिएको छ । कसरी सामान्ती व्यवस्थाअन्तर्गत उनीहरूको मर्यादित मनोरञ्जन पेसा पछि गएर लोप हुँदै गयो ? कसरी विपन्नताले छाएपछि केही बादीहरू वेश्यावृत्तिमा लागे वा लगाइए ? यसको उत्तर खोजी गरिएको छ । तर, यसकै आधारमा समग्र बादी समुदायलाई नै वेश्यावृत्तिमा लागेको आरोपको विरोध गर्दै सरकारसँग गाँस, बास र कपासको ग्यारेन्टी गर्न आग्रह गरिएको छ ।
अमृता अनमोलद्वारा लिखित ‘जो बलात्कृत उही विस्थापित’ मा कसरी गरिबीले, त्यसमा पनि नाबालक बालिकाहरू, त्यसमा पनि दलित–सीमान्तकृत समुदायका बालिका, आमाविहीन, अभिभावकविहीनहरू बलात्कारको सिकार हुन पुगे र अन्ततः तिनीहरू परिवार, समाजबाट विस्थापित हुन गए भन्ने विश्लेषण छ ।
सबै कोणबाट हेर्दा किताबमा केही त्रुटिहरू भेटिएका छन् । विषय सूचीमा पेज नम्बर छुटेको देख्दा दाँतमा ढुंगा लागेको अनुभूति हुन्छ । सक्रिय राजतन्त्रलाई संवैधानिक राजतन्त्रमा ०४७ सालको आन्दोलनमार्फत ल्याउने झापा आन्दोलनमा महिलाको सहभागितासम्बन्धी लेखलाई स्थान दिएको छ । तर, गणतन्त्र, संघीयता, समावेशी, लोकतन्त्र र धर्मनिरपेक्षता सहितको व्यवस्था ल्याउने माओवादी आन्दोलनमा महिलाको भूमिकासम्बन्धी कुनै लेख छैन ।
यो किताबलाई महिलावादी दृष्टिकोण र ‘इन्टरसेक्सनल’ दृष्टिकोणबाट अभिप्रेरित भनियो, तर यी विषयमा विस्तृत जानकारी दिएको पाइएन । बादी महिला, यौनिक तथा लैंगिक अल्पसंख्यकसम्बन्धी लेखहरूका निम्ति त्यही समुदायभित्रका लेखकलाई प्राथमिकता दिनुपर्थ्यो ।
अन्त्यमा, यो किताब विचारप्रधान त भनियो तर पार्टीभित्र, बाहिर वैचारिक संघर्ष, अन्तरसंघर्षमा महिलाको हस्तक्षेपबारे कुनै लेख आएन । आशा गरौं, ‘सम्बन्ध शृङ्खला–२’ मा यी कमजोरी हट्नेछ र उत्कृष्ट किताब प्रकाशित हुनेछ ।